बन्ने भयो १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना, ५ वर्ष भित्रमा निर्माण गरिने |

काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यको लागि सोमवार ठेक्का सम्झौता गरेको छ ।
आयोजनाको नदी फर्काउने, बाँधलगायतको पहिलो प्याकेजका संरचनाका लागि निर्माण सम्झौता गरिएको हो । पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीले ठेक्का पाएको हो । ठेक्का सम्झौता न्यूनतम मूल्याङकित कम्पनीले पाएको हो ।
तनहुँ हाड्रोपावर लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके र सिएमसीका तर्फबाट आधिकारिक प्रतिनिधि सालभाटोरे कसियारोले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सिएमसीसँग २० अर्व ६४ करोड ५२ लाख रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित) मा खरिद सम्झौता भएको हो ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका कामका लागि सारभूत रुपमा तथा न्यूनतम मूल्याङकित चिनिया कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग सम्झौता भएको छ । तनहुँ हाड्रोपावर लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक प्रदीपकुमार थिके र सिनो हाइड्रोका तर्फबाट आधिकारिक प्रतिनिधि छेङ सोएस्याङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीसँग ३ अर्व ८३ करोड १४ लाख रुपैयाँ (मूल्य अभिबृद्धि कर बाहेक) मा खरिद सम्झौता भएको हो ।

दुवै प्याकेजको निर्माण कार्य दुई महिनापछि शुरु गर्ने र सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएको छ । प्रवन्ध सञ्चालक थिकेले तनहुँ जलविद्युत आयोजना कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजना भएको र विद्युतको लोड व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना हुने बताए । महत्वपूर्ण आयोजना भएकाले निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई थिकेले आग्रह गरे । आयोजना निर्माण निर्धारित समयमा सम्पन्न गर्र्ने प्रतिवद्धताका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र निर्माण कम्पनीहरुका उच्च तहको व्यवस्थानबीच दशै अगावै छलफल गर्न लागिएको उनले जानकारी दिए । निर्माण कम्पनीहरुले आयोजना निर्धारित समयमै सम्पन्न गर्र्ने प्रतिबद्धता जनाएका थिए ।
तनहुँ हाइड्रोपावर लिमिटेडले गत ७ साउनमा बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको थियो ।
पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका ५ कम्पनीहरुमध्ये ३ वटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका ३ वटा कम्पनीहरुमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए ।
तेस्रो प्याकेजका लागि अध्ययन हुदै
आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि बोलपत्रको मुल्याङन भइरहेको छ ।
नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । तनहँुको रिसिङ गाउँपालिका–१ मा कार्यालय तथा कर्मचारी आवास गृह निर्माणको काम अन्तिम चरणमा छ । जलाशय क्षेत्रको जग्गा प्राप्तिका लागि ९५ प्रतिशत मुआब्जा वितरण भइसकेको छ । बाँधतर्फ जाने पहुँच मार्ग निर्माण र व्यास नगरपालिका–५ मा बन्ने श्रमिक आवास गृहका लागि जग्गा अधिग्रहणका गर्न मुआब्जा निर्धारण भई मुआब्जा वितरण शुरु गर्ने प्रक्रियामा छ ।
आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक (एडीबी) ले १५० मिलियन अमेरिकी डलर, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले १८४ मिलियन अमेरिकन डलर, युरोपियन इन्भेस्टमेन्ट बंैक (ईआईबी) ले ८५ मिलियन अमेरिकन डलर र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८७ मिलियन अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।