सेयर बजारमा हरियाली, एकैदिन ७३.३३ अंकको बृद्धि, सूचकसँगै बढ्यो कारोबार रकम | पुँजी बजारको नीतिमा कुनै परिवर्तन नगर्ने गभर्नरको सकेंत
काठमाडौं । आइतबार नेप्से परिसूचकमा एकैदिन अधिकतम ७३.३३ अंकको बृद्धि आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक अधिकतम ७३.३३ अंकले बढेर २ हजार ८९८.४३ बिन्दुमा पुगेको हो ।
आर्थिक वर्षको अन्त्यमा हुने क्लोजिङ्गको प्रेशर कम भएसँगै धितोपत्र बजारमा सुधार देखिएको छ। असारको मध्येदेखि नै शेयर बजारमा क्लोजिङ्गको प्रेशर पर्न थालेको थियो।
बैंक तथा वित्तीय संस्था र ब्रोकरहरुले पनि हिसाब मिलान तर्फ लाग्दा विगतका दुई साताको नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको थियो। तर, अहिले त्यसको प्रेशर कम भएसँगै बजारमा पुनः उत्साह छाएको हो।
कम्पनीहरुले हिसाब मिलान लगभग सकाइसकेका छन् भने ऋण लिएका लगानीकर्ताहरुले पनि ब्याजको जोहो गरिसकेको यस दिनको बजारले संकेत गरेको छ।
गत साता दैनिक औषतमा साढे ४ अर्ब कारोबार भएको बजारमा यस दिन ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। यस दिन २२५ कम्पनीको ८२ हजार ४९ पटकको कारोबारमा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार रुपैयाँ बराबरको ३ करोड १५ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्सेसँगै कारोबार रकममा भएको वृद्धिले पछिल्लो समय निराश भएका लगानीकर्ताहरुमा उत्साह छाएको छ।
यस दिन कारोबारमा आएका २१ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये अधिकांश फाइनान्स कम्पनी र विकास बैंकहरु रहेका छन्। यस दिन गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र आइसीएफसी फाइनान्सको शेयरमूल्य १० प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने यस दिन ३.७५ प्रतिशत घटेको छ।
आइतबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक उकालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.३९ प्रतिशत बढेको छ भने विकास बैंकको ८.२४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग, जलविद्युत, निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३९ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नबिल बैंक र नेपाल बैंकको २४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
नीतिमा कुनै परिवर्तन नगर्ने गभर्नरको सकेंत
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुँजी बजारलाई प्रभाव पार्ने गरी कुनै नीतिमा परिवर्तन नगर्ने संकेत दिएपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ । लगानीकर्ताहरुसँग गत शुक्रबार भएको छलफल कार्यक्रममा गभर्नर अधिकारीले पुँजी बजारलाई सम्वन्धी नीतिमा कुनै परिवर्तन नगर्ने संकेत दिएपछि शेयर बजारमा सुधार देखिएको हो ।
पुँजी बजारमा नीतिमा गभर्नर अधिकारीले कुनै फेर बदल नगर्ने आश्वासन दिएको लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए । ‘गत शुक्रबार गभर्नरसँगको छलफलमा पुँजी बजारमा अहिले भइरहेको नीतिमा कुनै परिवर्तन नगर्ने संकेत दिनु भएको छ,’ उनले भने, ‘त्यसका कारण पनि बजारमा सकारात्मक प्रभाव परेको हो ।’ यसका अतिरिक्त राजनीतिक माहोल केही सङलिने संकेत देखिएका कारण पनि बजारमा सुधार देखिएको अर्यालको भनाइ छ ।
निरन्तर ओरालो लाग्दै आएको नेप्से गभर्नर अधिकारीसँगको छलफलपछि सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति अर्को साता ल्याउने तयारी गरिरहेको छ ।
केन्द्रीय बैंकले ल्याउने मौद्रिक नीतिमा पुँजी बजारमा असर पार्ने खालका नीति आउने हल्ला चलेसँगै बजार निरन्तर ओरालो लाग्दै आएको थियो ।
३०२५ अंक नजिक पुगेको नेप्से २८०० अंकको हाराहारीमा आएको थियो । तर, त्यो हल्ला यर्थाथ नभएको भन्दै गभर्नर अधिकारीले लगानीकर्तालाई आश्वासन दिएपछि शेयर बजारमा एकाएक रौनक थपिएको छ । नेप्से साताको पहिलो दिन ७३.३३ अंकले सुधार आएर २८९८.४३ अंकमा पुगेको छ । कारोबार रकम पनि ८ अर्ब माथि भएको छ ।