राष्ट्र बैंकले सुनको आयात कोटा बढायो | २५ किलोसम्म आयात गर्न सकिने
काठमाडौं । नजिकिदैं गएको चाडबाड र बिवाहको सिजनलाई मध्यनजर गर्दै बाणिज्य मन्त्रालयको सिफारिसमा राष्ट्र बैंकले सुन आयातको कोटा बढाउने भएको छ ।
सुनचाँदी ब्यवसायीले दैनिक आयात कोटा १५ किलोले बढाएर ३५ किलो पुर्याउन माग गरेका थिए । तर खस्किँदो विदेशी विनिमय सञ्चिति र बढ्दो शोधनान्तर घाटालाई हेरेर राष्ट्र बैंकले २५ किलो मात्र आयात गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
राष्ट्र बैंकले आगामी मंसिरसम्मका लागि सुनको दैनिक आयात कोटा ५ किलोले बढाउने भएको हो । यस बारेमा राष्ट्र बैंकले बाणिज्य मन्त्रालयको सीफारिसमा निर्णय गरिसकेको छ ।
अहिले दैनिक २० किलो सुन आयात गर्न पाइन्छ । यसमा ५ किलो थपेर २५ किलोसम्म ल्याउन पाइने निर्णय गरिएको हो । बैंकहरुले युएइ र थाइल्यान्डबाट बढिजस्तो सुन आयात गर्छन्। । पछिल्लो समय सेञ्चुरी बैंकले मलेसियाबाट सुन आयात गर्ने प्रकृया थालेको छ । बैंकरका अनुसार दुवइ र थाइल्यान्डभन्दा अहिले मलेसियामा सुन केही सस्तो पाइन थालेको छ ।