आजदेखि युनियन लाइफको आईपीओ बिक्री खुला |

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आज (असार २४ गते) बिहीबारदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।
त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो।
कम्पनीको आईपीओमा छिटोमा असार २८ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा माथि १० अंकको गुणाङ्क संख्यामा अधिकतम ३२ हजार २५० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि आईपीओमा आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। प्रत्याभुतकर्तामा नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी–आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउछ।