एनआइसी एसिया बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका |
काठमाडौं । एनआइसी एसिया बैंकको ऋणपत्रमा आवेदन दिने आज आइतबार (असोज २० गते) अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ ।
बैंकले असार ६ गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला गरेको छ । यसले १ हजार रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता ‘एनआइसी ऋणपत्र २०८८’ जारी गरेको हो ।
यसमध्ये १२ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यसमा वार्षिक ब्याजदर ८.५% पाइनेछ । यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिन्छ । यसमा बिक्री प्रवन्धकको काम सनराइज क्यापिटलले गरेको छ ।
बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई कियर रेटिङ नेपालले कम जोखिम जनाउने ’कियर एनपी सिंगल ए रेटिङ’ प्रदान गरेको छ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् ।