विद्युत महशुलमा सहजिकरण गर्ने प्राधिकरणको सहमतिपछि सुन्दर यातायातले निकाल्यो बस |
काठमाडौं । विद्युत महशुल भुक्तानीमा विद्युत प्राधकरणले सहजीकरण गर्ने सहमति भएपछि सुन्दर यातायातले आजदेखि बस सञ्चालनमा ल्याएको छ।
चार्जिङ स्टेशन शीर्षकअन्तर्गत महशुल तिर्ने सहमतिपछि आजदेखि नै दुई वटा बस सञ्चालनमा ल्याएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए।
यसअघि प्राधिकरणले चार्जिङ स्टेशन शीर्षकअन्तर्गतको शुल्क लिनुपर्नेमा अन्य शीर्षक अन्तर्गत चर्को शुल्क लिएकाले सुन्दर यातायात थप समस्यामा परेको थापाले गुनासो गरेका थिए।
चार्जिङ स्टेशनको महशुल प्रति युनिट पाँच रुपैयाँ बीस पैसा हुनुपर्नेमा अन्य शीर्षक अन्तर्गत प्रति युनिट नौ रुपैयाँका दरले बिल आउन थालेको उनको गुनासो थियो। सोही कारण देखाउँदै सरकारले मंगलबारदेखि सार्वजनिक बस सञ्चालनको अनुमति दिए पनि सुन्दर यातायातले बसहरु निकालेको थिएन।
समस्या समाधान नभएसम्म गाडीहरु नचलाउने थापाको अडान थियो।
‘अन्य शीर्षक अन्तर्गत तिर्नु परेको चर्को विद्युत महशुल चार्जिङ स्टेशन शीर्षक अन्तर्गत कायम गर्ने सहमति भएकाले सडकमा बस गुडाउन थालेको हो’, उनले भने।
यस अघि यातायातले तिर्नुपरेको बढी रकम फिर्ता गर्न रत्नपार्क शाखालाई प्राधिकरणले निर्देशनसमेत दिइसकेको छ ।