लगातारको धनगढी बन्दले जनजीवन प्रभावित |

धनगढी । शनिबारदेखि आह्वान गरिएको अनिश्चितकालीन धनगढी बन्द आज पनि यथावत छ । प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णय खारेजको माग गर्दै कांग्रेस नेतृत्वमा आह्वान भएको बन्दलाई उद्योग बाणिज्य संघ, कैलाली, प्याब्सन, एन प्याब्सन र बस ब्यबसायीलगायतले समर्थन गरेका छन् ।
बन्दका कारण उद्योग, कलकारखाना, शिक्षण संस्था पसल खुलेका छैनन् भने सवारी साधनहरु ग्यारेजमा थन्किएका छन् । बन्दका क्रममा हुन सक्ने सम्भावित घटनालाई ध्यान दिँदै सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जानकाारी दिएको छ । सशस्त्र र नेपाल प्रहरीले सडक तथा चोकहरूमा पहरा दिइरहेका छन् ।
प्रदेशसभामा शुक्रबार प्रदेश ७ को स्थायी राजधानी गोदावरी नगरपालिकाको वडानम्बर २ मा राख्ने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने निर्णय दुई तिहाई बहुमतका आधारमा गरिएको थियो ।
आन्दोलनको नेतृत्व गर्दै आएको कांग्रेसले प्रतिपक्षको उपस्थिति बिना गरिएको निर्णय मान्य नहुने बताउँदै आएको छ । प्रदेशसभामा राजधानी र नामको लागि भएको मतदानमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले भाग लिएका थिएनन् ।
त्यसअघि प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले बैठक बहिस्कार गरेपनि सत्तापक्षकै सांसदको उपस्थितिमा संसदीय समितिको प्रस्तावलाई बैठकले छलफलका लागि पास गरेको थियो ।