निर्मला हत्या प्रकरण : एसपीसहित सबैको डीएनए रिपोर्ट आयो, तर मेल खाएन |

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका तीनजनाको डीएनए परीक्षण गरिएकोमा त्यसको रिपोर्ट सार्वजनिक गरिएको छ । निलम्बनमा परेका एसपी डिल्लीराज विष्ट र उनका छोरा किरणसहित भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए परीक्षण गरिएकोमा त्यसको रिपोर्ट आएको हो ।
रिपोर्ट आए पनि ती शंकास्पद मानिएका सबैको रिपोर्ट मेल नखाएको कञ्चनपुरका एसपी कुवेरबहादुर कठायतले जानकारी दिए । उनले भने, ‘डीएनए रिपोर्ट आएको छ । तर, मेल खाँदैन ।’
कञ्चनपुवासीले शुरूदेखि नै एसपी विष्टका छोरा र मेयरका भतिजमाथि शंका गरेका थिए । सम्पूर्ण स्थानीयवासी उनीहरुमाथि छानबिन गर्न माग गर्दै आन्दोलनसमेत चर्काएका थिए । तर, लामो समयसम्म उनीहरुलाई अनुसन्धानको दायरामा ल्याइएन । एसपी विष्टले पनि अनुसन्धानमा लापरबाही गर्नुका साथै प्रमाण नष्ट गर्न मुख्य भूमिका खेलेको सरकारी छानबिन समितिले बताइसकेको छ । छानबिन समितिकै सिफारिशका आधारमा एसपी विष्टलाई निलम्बन गरिएको हो ।
यसअघि प्रहरीले मुख्य अभियुक्तको रूपमा सार्वजनिक गरेको दिलीपसिंह विष्टको पनि डीएनए रिपोर्ट नेगेटिभ आएको थियो । साउन १० गते साथी रोशनी बमको घर गएकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट बिहान उखुबारीमा शव भेटिएको थियो । तर, उनको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले अझैसम्म पक्राउ गर्न सकेको छैन ।