१२ लाख कित्ता आइपीओ बिक्री गर्न तेह्रथुम पावरलाई धितोपत्र बोर्डको अनुमति |
काठमाडौं । तेह्रथुम पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । पावरले स्थानीय र सर्वसाधारणलाई आइपीओ जारी गर्ने एकैपटक अनुमति मागेको हो । उक्त आइपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई बिक्री गरिनेछ ।
तेह्रथुमको आइपीओमा एनआएबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यस पावरको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसले तेह्रथुम जिल्लामा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ ।
यसको प्रतिमेगावट लागत भने १८ करोड ३० लाख रुपैयाँ छ । आइपीओबाट प्राप्त हुने रकम तेह्रथुम पावरले निर्माण गरिरहेको अपर खोरुङा स्मल हाइड्रोपावर प्रजेक्टमा लागनी हुने कम्पनीको भनाई छ । तेह्रथुम पावर कम्पनी २००९ मा स्थापना भएको हाइड्रोपावर कम्पनी हो । हाल यसको चुक्ता पुँजी २८ करोड रुपैयाँ छ । आइपीओ बिक्रीपछि पुँजी ४० करोड पुग्नेछ ।