सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ७ अर्बमा खुम्चियो |
काठमाडौँ । साताको अन्तिम दिन विहीबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार १६.९६ अंकले घटेको हो । ०.५९ प्रतिशतले बजार घट्दा नेप्स परिसूचक २८४३ अंकमा ओर्लिएको छ ।
नेप्सेका अनुसार आज २१९ कम्पनीका १ करोड ३२ लाख १० हजार ३ सय ६९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७ सय ४० रुपियाँ बराबरको कारोबार भएको छ । बजार ओरालो लागे पनि आज होटल एण्ड टुरिजम र जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छ । होटल समूह ४१.६९ प्रतिशत र जलविद्युत समूह ५५.७६ अंकले बढ्दा बाँकी समूह भने राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १७७.२४ अंक र जीवन बीमा समूह १४३.८८ अंकले घटेको हो ।
आज अपर तामाकोशी हाइड्रोपावरको शेयर कारोबार पोजेटिभ सर्किट लेभलमा भएको छ । सबैभन्दा बढी अपरका लगानीकर्ताले ९.८८ प्रतिशतले नाफा कमाएका हुन् । त्यसैगरी सबैभन्दा बढी ङ्यादी ग्रुप पावरका लगानीकर्ताहरुले घाटा व्यहोरेका छन् । ङ्यादीको सबैभन्दा बढी ५.६८ प्रतिशत र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५.०८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
नेप्सेका अनुसार आज नेपाल पुनर्बीका कम्पनीको सबैभन्दा बढी ३७ करोड ८३ लाख ९५ हजार २ सय १७ रुपियाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी नेपाल इन्स्योरेन्स कम्पनीको ३५ करोड २३ लाख ९८ हजार ४६ रुपियाँ र अपर तामाकोशीको २८ करोड ९२ लाख १३ हजार ४ सय ८३ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार ६३.२८ अंकले बजार घट्दा ११ अर्ब ८१ करोड, सोमबार ७१.०६ अंकले घट्दा ११ अर्ब ६१ करोड, मंगलबार ७९.४४ अंकले बढ्दा १० अर्ब २८ करोड र हिजो बुधबार ५१.६५ अंकले बजार घट्दा ८ अर्ब ३६ करोडको शेयर किनबेच भएको थियो ।
असार १ गते नेपाल धितोपत्र बोर्डले विभिन्न ५१ कम्पनी जोखिमयुक्त रहेको रिपोर्ट सार्वजनिक गरेपछि शेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ ।