कोर नेटवर्कको एचएलआर सिस्टमको खराबीले टेलिकमको सेवामा केहिबेर समस्या |
काठमाडौं । नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको थियो । टेलिकमले सोको जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ः१५ बजे (२ घण्टा मैं) सिस्टमलाई सुचारु गर्न सफल भएको जनाएको छ ।
सो अवधिमा जीएसएम मोबाइलको टुजी, थ्रीजी र फोरजी प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको भीओएलटीईमा समस्या नआएको र जीएसएम मोबाइलका केही फिचर फोनमा समस्या नदेखिएको टेलिकमले जनाएको छ । मुख्यतः स्मार्ट फोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको टेलिकमको भनाइ छ ।
कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्सका कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइ हालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैं तत्पर रहिरहने टेलिकमले जनाएको छ