अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान उच्च : गभर्नर अधिकारी |

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साना तथा घरेलु व्यवसायको योगदान समग्र अर्थतन्त्रमा धेरै महत्वपूर्ण रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग सामोबार वेबिनारमार्फत आयोजना गरिएको अन्तरक्रिर्या कार्यक्रममा उनले संसारभरी नै साना तथा मझौला उद्योगको भूमिका हेर्ने हो भने संख्यात्मक हिसाबले पनि महत्वपूर्ण र अर्थपूर्ण रहेको बताएका हुन् ।
नेपाल राष्ट्र बैंकले पनि आफ्नो आफ्ना नीतिमा यस क्षेत्रलाई प्राथमिकता राख्दै आएको र चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ऐतिहासिक परिवर्तन नै ल्याउन खोजेको बताए । सहुलियतपूर्ण कर्जा पनि प्रत्येक शाखामा १० ओटा आवेदन आउनुपर्ने र सँगसँगै कुल कर्जाको १५% अर्थात् १ करोड रुपैयाँभन्दा साना कर्जामा जानुपर्ने व्यवस्था यस क्षेत्रलाई गरिएको उनको भनाइ थियो ।
साथै, पुनरकर्जामध्ये पनि ७०% पुनरकर्जा १५ लाख भन्दा सानालाई दिने गरि व्यवस्था गरिएको उनले बताए । उनले भने, ‘गत साल मात्रै १५ लाखभन्दा साना व्यवसायी लगभग ४२ हजारले पुनरकर्जा पाउनुभयो । त्यो महत्वपूर्ण उपलब्धि हो हाम्रो नयाँ पोलीसीको जस्तो लाग्छ ।’
‘यसमा खासगरी व्यवहार र प्रक्रियामा सोचेजस्तो भएन बैंकहरुले व्यवसाय मैत्री व्यवहार गरेनन् भन्ने कुरा हामीलाई बीचबीचमा नआएको होइन त्यसभित्र कयौं व्यवहारीक समस्याहरु हामीले पनि महसुस गरेका हौं । यस्ता कुरालाई कम गर्ने प्रयास गरेका छौं र धेरै हदसम्म सुधार भएको छ’ उनले भने ।
सो कार्यक्रममा महासंघका अध्यक्ष श्याम गिरीले उद्योगीले लिएको कर्जामा निषेधाज्ञा अवधिको ब्याज मिनाहा गर्न माग गरेका थिए । साना उद्योगीको हकमा पुनर्कर्जा सम्बन्धी कार्यविधिलाई पुर्नलेखन गर्नुपर्ने जरुरी रहेको भन्दै उनले पुनर्कर्जा कार्यविधि पुनैलेखन कार्यमा घरेलु महासंघलाई पनि सहभागी गराइनुपर्ने बताए ।
उक्त कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधान, पूर्व अध्यक्ष लता प्याकुरेल, वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिँहलगायतले साना तथा मझौला उद्योगको विकासमा विशेष ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा बैंकका डेपुटी गर्भनरद्वय बमबहादुर मिश्र, डा.निलम तिमिल्सिना, प्रवक्ता देवकुमार ढकाललगायत विभिन्न विभागीय प्रमुखहरुको पनि सहभागिता थियो ।