५१ कम्पनीहरुको सूची बदर गर्न माग नेपाल धितोपत्र विरुद्ध सर्वोच्चमा रिट |
काठमाडौं । नेपाल धितोपत्र बोडले ५१ कम्पनीहरुका विषयका सार्वजनिक गरेको धारणा विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता रविन बोहजुले बार्डको उक्त कदम विरुद्ध असार ४ गते रिट दायर गरेका हुन ।
बोर्डले सार्वजनिक गरेको ५१ कम्पनीहरुप्रतिको धारणा बदर गर्न माग गर्दै रिट दायर गरिएको अधिवक्ता बोहजुले जानकारी दिएका छन् । कम्पनीको नामनै सार्वजनिक गरी जोखिमयुक्त भनेर जारी गरेको बोर्डको विज्ञप्ती कानुन सम्मत् नभएको भन्दै उक्त विज्ञप्तीलाई बदर गर्न माग गर्दै रिट दायर गरेको जानकारी बोहजुले दिएका छन् ।
बोर्डले आफ्नो अधिकारभन्दा वाहिर गई सार्वजनिक गरेको उत्त विज्ञप्तीले लगानीकर्ताहरुलाई त्रसित र आतंकित बनाई स्वयं आफैले बजार प्रभावित गर्ने काम गरेको आरोप पनि उनको छ । बोर्डले उल्लेख गरेको ५१ कम्पनीमा शेयर कर्नरिङग, इन्साइडर ट्रेडिङ्ग भएको भन्दै अध्ययन तथा अनुसन्धान जारी राखेको अभिव्यक्ति दिएपनि त्यसको कुनै मापन विधि नभएका त्यसतर्फ आवश्यक कानुन निर्माणतर्पm ध्यान दिन उनले सुझाब दिएका छन् । बोहजुले दायर गरेको रिटको पेशी आइतवार विहान १० बजेका लागि तोकिएको छ ।
बोर्डको उक्त कदमप्रति स्वतन्त्र उर्जा उत्पादनहरुको संस्था, नेपाल (इप्यान) र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले पनि आपत्ति जनाएका छन् । ती दुबै संस्थाहरुले तीन कम्पनीहरुले गलत काम गरेको भए कारवाही गराउनुको सट्टा नामनै सार्वजनिक गरेर लगानीकर्तामा भ्रम फैल्याएको भन्दै आपत्ति जनाएका हुन ।
असार १ गते बोर्डले विगत एक वर्षको अवधिमा मूल्य बृद्धि ३ सय प्रतिशत र सोभन्दा बढी प्रतिशतले भएको, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएको, प्रति शेयर आम्दानी ऋणात्मक भएको, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएको कम्पनीहरुको वित्तीय क्षमताको मूल्याङ्क समेतको आधारमा बोर्डले ५१ कम्पनीमा लगानी गर्नु जोखिमयुक्त रहेको जानकारी गराएको थियो ।
बोर्डले सार्वजनिक गरेको कम्पनीहरुको नाम सहित यस अघिको नेप्सेले कायम गरेको उच्च विन्दु १ हजार ८८१ दशमलव ४५ विन्दु हुदाँको अवधि र हालको अवधिसम्म ती कम्पनीहरुको शेयरमूल्य , प्रतिशेयर आम्दानी , मूल्य आम्दानी अनुपात र प्रतिशेयर नेटवर्थ समेत प्रस्तुत गरेको छ ।