साओमीले नयाँ फोल्डएबल फोन ल्याउने, १०८ मेगापिक्सलको क्यामरा |
चिनियाँ स्मार्टफोन कम्पनी साओमीले नयाँ फोल्डएबल फोन ल्याउने भएको छ ।
ग्याजेट ३६० का अनुसार गत मार्च पहिलो स्मार्टफोन सार्वजनिक भएसँगै साओमीले त्यसैको लाइनअप बनाइरहेको हो ।
कम्पनीले आउँदो नयाँ फोल्डएबल फोनबारे विवरण नदिएपनि सो फोनका केही फिचरहरु वेइबोमा लिक भएको छ ।
‘एमआई मिक्स फोल्ड’को सफलतापछि उत्पादन हुनलागेको नयाँ फोल्डएबल फोनको नाम ‘एमआई मिक्स फोल्ड–२’ हुन सक्ने रिर्पोटले अनुमान गरेको छ । यो फोन भित्रपट्टि फोल्ड गर्न मिल्ने डिजाइनको साथ आउनेछ ।
सामसङको ‘ग्यालेक्सी जेड फोल्ड–२’ मोडलमा पनि भित्रपट्टि फोल्ड गर्न मिल्ने डिजाइन भएकोले नयाँ ‘एमआई मिक्स फोल्ड–२’ त्यसको प्रतिस्पर्धि उपकरण हुने ग्याजेट ३६० ले बताएको छ ।
यो फोनमा ‘प्रोएक्टिभ अन्डर–स्क्रिन टेक्नालोजी’ हुनेछ। यसको बाहिर र भित्र दुवै पट्टि उच्च रिफ्रेस रेट भएको डिस्प्ले हुनेछ ।
‘एमआई मिक्स फोल्ड–२’को खास विशेषता भनेको यो फोनमा १०८ मेगापिक्सलको प्राइमेरी क्यामरा हुनेछ। यसमा पाँच हजार एमएएचको ब्याट्री पावर हुनेछ भने यो फोन क्वालकोम स्नैपड्रागन ८८८ को प्रोसेरले बन्नेछ ।
साओमीले आफ्नो नयाँ स्मार्टफोनको लागि थुप्रै अपग्रेड गरिरहेको अनुमान छ, तर कम्पनीले हालसम्म कुनै आधिकारिक जानकारी नदिएको हुनाले यसको फिचर थाहा पाउन उपकरण सार्वनजिक हुने मितिको प्रतिक्षा गर्नुपर्ने हुन्छ ।
साओमीले यही वर्षको अन्तिमतिर ‘एमआई मिक्स फोल्ड–२’ सार्वजनिक गर्ने भनिएको छ । कम्पनीले स्मार्टफोन सार्वजनिक गर्नु अघि त्यसका केही विवरणबारे टिजरपनि निकाल्न सक्ने ग्याजेट ३६० ले उल्लेख गरेको छ ।