निजी क्षेत्रका डेढ दर्जन जलविद्युत आयोजनामा बाढी पहिरोको क्षति |
काठमाडौं । केही दिनदेखि परेको अविरल वर्षाका कारण सरकारी स्वामित्वका आयोजना खासै क्षति नपुर्याए पनि निजी क्षेत्रबाट निर्माण भएका करिब डेढ दर्जन आयोजनालाई क्षति पुर्याएको छ । केही दिनदेखि यता परेको पानीले सरकारीस्तरबाट निर्माण भएका आयोजनाभन्दा निजी क्षेत्रबाट निर्माण भएका आयोजना तथा प्रसारण लाइनलाई बढी क्षति पुर्याएको हो।
विगत तीनदेखि परेको ठूलो वर्षाका कारण नेपाल विद्युत प्राधिकरण मातहत निर्माण भएका आयोजनाभन्दा निजीबाट स्थापना भएका आयोजनालाई बढी क्षति पुर्याएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
‘केही दिनदेखि परेको पानीले हाम्रा (प्राधिकरण) का आयोजनाभन्दा पनि निजी क्षेत्रबाट निर्माण भएका आयोजना र प्रसारण लाइनलाई बढी क्षति पुर्याएको छ,’ उनले भने, ‘बाढीका कारण प्राधिकरण मातहतका आयोजना पनि केही समयका लागि बन्द गर्नु परेको हो। तर, अहिले धेरैजसो आयोजना सञ्चालनमा आइसकेका छन्। अहिले पनि कालीगण्डकी, मध्य–मर्स्याङ्दी, सुनकोशी लगायतका आयोजनामा क्षति पुर्याउने हो कि भनेर चनाखो साथ निगरानी गरिरहेका छौं।’ मध्य–मर्स्याङ्दीको ड्याममा क्षति पुर्याउने सम्भावना अझै टरिनसकेको उनको भनाइ छ।
प्राधिकरण मातहतका आयोजनालाई क्षति नपुर्याए पनि दोर्दी कोरिडोरका ४ वटा टावर भत्काएको जानकारी पनि शाक्यले दिए। ‘प्राधिकारण मातहतका आयोजनाको स्ट्रक्चरमा ठूलो क्षति नपुर्याए पनि निजी क्षेत्रका आयोजनमा भने ठूलै क्षति पुगेको छ,’ उनले भने, ‘निजी क्षेत्रका आयोजनामा के कति क्षति पुग्यो? भन्ने बारेमा भने वास्तविक तथ्यांक प्राधिकरणमा आइपुगेको छैन।’
बढी पहिरो र खोलामा आएको लेदोका कारण निजी क्षेत्र र प्राधिकरण मातहतका आयोजनाबाट बुधबार पनि करिव ४०० मेगावाट बिजुली उत्पादन हुन नसकेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिमिल्सीनाले जानकारी दिए। बाढी पहिरो अहिले पनि नरोकिएका कारण क्षतिको विवरण अझै आउने क्रममा रहेको उनले बताए।
केही दिनदेखि यताको अबिरल वर्षाले निजी क्षेत्रका आयोजना तथा प्रसारण लाइनमा क्षति पुर्याएका कारण राष्ट्रिय प्रसारण लाइनमा बिजुली जोडन नसकिएको निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको भनाइ छ । बाढी पहिरोका कारण सिन्धुपाल्चोकमा रहेको साढे ७ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत केन्दको बाँध क्षेत्रका संरचना र प्रसारण लाइनमा क्षति पुर्याउँदा बिजुली उत्पादन बन्द गर्नु परेको नेशनल हाइड्रोपावर कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए ।
उनका अनुसार आयोजनाको ३∕४ वटा प्रशारण लाइन बगाएको छ। यसैगरी, बाढी पहिरोका कारण सिन्धुपाल्चोकमा नै रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी आयोजना पनि केही समय बन्द गर्नु परेको थियो। भोटेकोशी नदीमा आएको बाढी विद्युतगृहमा पस्ने खतरा बढेपछि केही समय बिजुली उत्पादन बन्द गर्नु परेको आयोजनाको भनाइ छ । तर, अहिले भने उक्त आयोजनाबाट बिजुली उत्पादन हुन थालेको छ ।
यसैगरी, बाढी पहिरोका कारण निजी क्षेत्रबाट निर्माण भएका लमजुङका धेरै जसो आयोजना बन्द भएको प्राधिकरणका प्रवक्त तिमिल्सीनाले बताए। लमजुङमा निजी क्षेत्रबाट निर्माण भएका आयोजनाबाट कुल ४५ मेगावाट बिजुली उत्पादन बन्द हुन पुगेको पनि उनले जानकारी दिए ।
बाढी पहिरोका कारण लमजुङमा निर्माण भएको ४ मेगावाट क्षमताको राधी जलविद्युत केन्द्र बन्द हुन पुगेको छ। प्रसारण लाइनको टावर ढलेपछि उक्त आयोजनाबाट उत्पादन हुने बिजुली बन्द गरिएको हो ।
जलविद्युत आयोजना सञ्चालन गर्न समस्या आउने गरी कतिपय नदीमा बाढी आएका कारण केही आयोजनाबाट बिजुली उत्पादन हुन नसकेको प्रवक्ता तिमिल्सीनाले बताए ।
बाढीसँगै आएको लेदोले ३ मेगावाटको मिदिम करापु, मुस्ताङस्थित १३.६ मेगावाट थापा खोला, बुटवल पावर कम्पनीको स्वामित्वमा रहेको १२ मेगावाटको झिमरुक खोला, बुटवल पावर कम्पनीको स्वामित्वमा रहेको १२ मेगावाटको झिमरुक खोलालगायतका आयोजनाबाट बिजुली उत्पादन अबरुद्ध भएको प्राधिकरणको भनाइ छ ।