दश महिनामा ४० अर्बको धितोपत्र निष्काशन अनुमति |
काठमाडौं । चालु आर्थिक वर्ष २०७७÷७८ को दश महिनासम्ममा नेपाल धितोपत्र बोर्डले कुल ४० अर्ब ४३ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ भने ३ खर्ब २७ अर्बको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन् ।
नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्क अनुसार धितोपत्र बोर्डले २०७८ बैशाख मसान्तसम्ममा १७ अर्ब ५४ करोड बराबरको डिबेन्चर, १३ अर्ब ३४ करोड रुपैयाँ बराबरको साधारण शेयर, ६ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ३ अर्ब ५ करोड बराबरको हकप्रद शेयर गरी कुल ४० अर्ब ४३ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशनका लागि स्म्बन्धीत कम्पनीहरुलाई निष्काशनका लागि अनुमति दिएको हो ।
यस अवधिमा ३ खर्ब २७ अर्ब ४० करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये २ खर्ब १९ अर्ब ९५ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र रहेको छ ।
यसैगरी ४३ अर्ब २० करोड रुपैयाँ बराबरको बोनस शेयर, ४१ अर्ब ३३ करोड बराबरको साधारण शेयर (आईपीओ) र १४ अर्ब ५५ करोड बराबरको डिबेन्चर नेप्सेमा सूचीकृत भएको छ । यसैगरी चालु आवको दश महिनामा ५ अर्ब ५२ करोड बराबरको हकप्रद शेयर र २ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्डको इकाई सूचीकृत भएको हो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ बैशाखसम्ममा सूचीकृत ५ अर्ब ७० करोड कित्ता शेयरको चुक्ता मूल्य ५ खर्ब ६० अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ८.४ प्रतिशत, लगानी कम्पनीको ७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.६ प्रतिशत रहेको छ ।
विसं २०७८ बैशाखमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ४ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन् । विसं २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।