शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा दिन राष्ट्र बैंकको निर्देशन | ७ लाखसम्म पाइने, ऋण वाणिज्य बैंक र विकास बैंकले दिने
काठमाडौं । शैक्षिक कर्जाका लागि प्रतीक्षारत नेपालका शैक्षिक बेरोजगारहरूले अब कुर्ने समय सकिएको छ । उनीहरूले कुनै पनि वित्तीय संस्थाबाट शैक्षिक कर्जा लिई आफ्नै व्यवसाय गरी रोजगार बन्ने अवसर प्राप्त भएको छ । नेपाल राष्ट्र बैंकले शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण दिन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई त्यस्तो ऋण दिन परिपत्रपत्र जारी गरी निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिएका हुन् । सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी सहुलियत पूर्ण शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।
कतिसम्म र कहाँबाट पाइन्छ शैक्षिक कर्जा ?
केन्द्रीय बैंकको परिपत्रपछि बैंक तथा वित्तीय संस्थाले प्रमाणपत्र धितोमा राखेर रू. ७ लाखसम्म शैक्षिक कर्जा दिन पाउनेछन् । मन्त्रिपरिषद्ले गत भदौ २१ गते शैक्षिक कर्जासम्बन्धी कार्यविधि पारित गरेको थियो । पारित कार्यविधि यही असोज ६ गते अर्थ मन्त्रालयले सार्वजनिक गरेको थियो । शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थाबाट पाइनेछ । तर केन्द्रीय बैंकको निर्देशनानुसार लघुवित्त संस्थाले भने त्यस्तो ऋण दिन पाउने छैनन् । स्नातक उत्तीर्ण विद्यार्थीले शुक्रबारदेखि नै शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
शैक्षिक कर्जा लिन योग्यता कति चाहिन्छ ?
शैक्षिक कर्जा लिनका लागि कम्तीमा स्नातक तह उत्तीर्ण भएको र ४० वर्ष उमेर ननाघेको, विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेकाको हकमा नेपालको कुनै विश्वविद्यालयबाट समकक्षता सम्बन्धमा प्रकाशित सार्वजनिक सूचीमा अध्ययन गरेको विश्वविद्यालय समावेश भएको हुनुपर्नेछ । साथै घरेलु तथा साना उद्योग कार्यालय, समिति, शिप विकास तालीम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्लगायतका निकायबाट उद्यम वा व्यवसाय गर्ने तालीम लिएको हुनुपर्नेछ ।
शैक्षिक कर्जा लिएका विद्यार्थीले थप अध्ययन गर्न चाहेमा सरकारले तोकिदिएको प्राविधिक विषय अध्ययन गर्नुपर्ने व्यवस्था गरिएको छ ।