इन्फिनिटी लघुवित्तले नेपाल एग्रोलाई प्राप्ति गर्न बोलायो विषेश साधारण सभा |
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न प्रस्ताव पारित गर्न विषेश साधारण सभा बोलाएको छ । लघुवित्तले असार २१ गते बिहान ९ बजे केन्द्रिय कार्यालय नवलपुरबाट भर्चुअल माध्यमबाट विषेश साधारण सभा बोलाएको हो ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाइ प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने प्रतिवेदनलाई छलफल गरी पारित गर्ने तयारी गरेको छ ।
इन्फिनिटीले नेपाल एग्रोलाई प्राप्ति गर्ने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त चल अचल सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन,प्राप्ति पछिका व्यवसायिक अवसरहरु,सम्पत्ति एवं दायित्वको बजार मूल्यांकन,वर्तमान जोखिम अवस्था समेतको आधारमा स्वाप रेशियो समेत कायम गरेको छ ।
साधारण सभाले नेपाल एग्रोको १०० कित्तालाई इन्फीनिटी लघुवित्तले ९८ कित्ता शेयर दिने र नेपाल एग्रोलाई प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने तयारी गरेको छ ।
इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न जेठ ११ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको थियो । इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तबीच प्राप्ति सम्बन्धि गत माघ २६ गते सम्झौता भएको थियो ।
विषेश साधारण सभा प्रयोजनको लागि लघुवित्तले असार ८ गते बुक क्लोज गर्न जनाएको छ । त्यस अनुसार असार ७ गते सम्म कायम शेयरधनीमात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् ।