नेपालमै पहिलो पटक नेपाल– चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू | आयोजना निर्माणदेखि अन्तरदेशीय प्रसारणलाइन बनाउनेसम्मका एजेण्डा

काठमाडौँ । नेपालमै पहिलो पटक नेपाल र चीनबीच दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आजदेखि काठमाडौंमा शुरू भएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहाप्रबन्धक हि याङले नेतृत्व गरेका छन् ।
बैठक हिजो बिहीवार हुने भनिए पनि १ दिन पर सरेर आजदेखि शुरू भएको हो । बैठकका लागि चिनियाँ टोली हिजो बिहीबार काठमाडौं आइपुगेको हो । बैठकमा विद्युत्को माग तथा आपूर्तिको अवस्था, आगामी दिन बढ्ने ऊर्जा मागको प्रक्षेपण, आयोजनाहरुको विकासको अवस्था, संयुक्त रूपमा आयोजना निर्माणका कार्ययोजना, अन्तरदेशीय प्रसारणलाइन निर्माणलगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।
बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको सहमतिअनुसार नै आयोजना गरिएको मन्त्रालयले जानकारी दिएको छ । भ्रमणके बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र उनका चिनियाँ समकक्षीबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही सहमतिलाई मूर्त रूप यो बैठक बसेको हो । ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा प्रभावकारी रूपमा काम गर्ने र नेपालमा चिनियाँ लगानी भित्र्याउने उक्त बैठकको लक्ष्य रहेको बताइएको छ ।
सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव र सहसचिवको नेतृत्वका दुई संयन्त्र बनाएको छ । प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा गल्छी–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा सहमति भएको थियो । यस्तै, संखुवासभा हुँदै चीनको तिब्बत जोड्ने अर्काे अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा पनि प्रस्ताव गरिएको छ । बैठकमा नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठक, ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विविध क्षेत्रमा छलफल हुने र एउटा समझदारी गर्ने कार्यक्रम रहेको छ ।