कलंकी–नागढुंगा सडकखण्डका स्थानीय आन्दोलनमा उत्रिए, सैयौं सवारीसाधन अवरुद्ध |

काठमाडौं । कलंकी–नागढुंगा सडक खण्डका स्थानीय बासिन्दाहरुले यथाशीघ्र चाँडो सडक मर्मत गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण अहिले उक्त सडक खण्डमा यातायात अवरुद्ध भएको छ । यातायात अवरुद्ध हुँदा सैयौं सवारीसाधन बीचबाटोमै रोकिएर बसेका छन् ।

ढुंगे अड्डाका स्थानीयले सडक अवरुद्ध गरेपछि सतुंगल क्षेत्रमा पनि आन्दोलन शुरू भएको छ । कलंकी ट्राफिक पोष्टका इन्सपेक्टर बिमल थापाले एक घण्टादेखि सडक अवरुद्ध रहेको र स्थानीय बासिन्दासँग वार्ताको प्रयास भइरहेको जानकारी दिए ।
हाल उक्त क्षेत्रमा सडक समयमै मर्मत नहुँदा सवारी जाम हुनुका साथै स्थानीयवासीले सडकबाट निस्कने धूवाँ धूलो तथा प्रदूषणकै कारण आन्दोलनमा उत्रिनु परेको बताएका छन् । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकी–नाढुङ्गा र चावहिल–जोरपाटी–साँखु सडक यथास्थितिमै पीच गर्ने भने पनि हालसम्म पिच हुन सकेको छैन ।
केही समयअगाडिको मन्त्रीपरिषद् बैंठकले पनि यी दुई सडकमा यथास्थितिमा नै पिच गर्न निर्देशन दिएको थियो । उक्त सडक खण्डका बासिन्दाले विगत ३ वर्षदेखि धुँवा, धूलो, प्रदूषणसहितको सास्ती खेपिरहेका छन् ।
