सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, वार्षिक ९ प्रतिशत ब्याजदर |
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक ९ प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंकले असार ६ गतेदेखि ‘९ प्रतिशत सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ३० करोड रुपैयाँ बराबरको ३० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ४५ रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
सो ऋणपत्र खरिदका लागि छिटोमा असार ९ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार २० गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी डबल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने तथा कर्जा जोखिम सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ ।