श्रम सम्झौताको अन्तिम रूप दिन नेपाली टोली मलेशिया प्रस्थान | १७ वर्षदेखि बिना श्रम सम्झौता नेपाली मलेशिया गए, यसपटक श्रम सम्झौता गरेरै आऊलान् त ?
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवम् वैदेशिक रोजगार महाशाखाका प्रमुख कृष्ण ज्ञवालीको टोली आज मलेशिया प्रस्थान गरेको छ । नेपाल र मलेशियाबीच हुन लागेको श्रम सम्झौताको मस्यौदालाई अन्तिम रूप दिन नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो ।
नेपाल र मलेशियाबीच १७ वर्षदेखिको श्रमसम्बन्ध रहे पनि अहिलेसम्म दुई मुलुकबीच श्रम सम्झौता भने हुन सकेको छैन । श्रम सम्झौताका लागि पटकपटक प्रयास भए पनि अहिलेसम्म त्यसले मूर्त रूप पाउन सकेको छैन ।
प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव एवम् दक्षिणपूर्वी एशिया मामिला महाशाखाका प्रमुख तापस अधिकारी र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कवीन्द्र नेपाल त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रतिनिधिमण्डलले यही असोज १२ गते मलेशियाको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीसँग नेपाल–मलेशिया श्रम सम्झौतालाई अन्तिम रूप दिने सम्बन्धमा वार्ता गर्ने श्रम मन्त्रालयले जानकारी दिएको छ ।
टोलीले दुई देशबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुट्न बाँकी रहेका विषयमा सहमति जुटाउने बताइएको छ । नेपाल र मलेशियाबीच श्रम सम्झौता गर्नेसम्बन्धी समझदारी (एमओयू) को खाका तीन पटकसम्म आदानप्रदान भइसके पनि सम्झौताको केही बुँदामा सहमति जुट्न नसकेपछि गम्भीर छलफलका लागि नेपालबाट टोली मलेशिया गएको हो । श्रम सम्झौताका विषयमा दुई देशबीच सहमति जुटेसँगै श्रम सम्झौताको मिति तय हुने बताइएको छ ।
मलेशिया जाने नेपाली कामदारसँग अवैध शुल्क लिएको भन्दै नेपाल सरकारले रोजगारीका लागि मलेशिया जान रोक लगाएपछि चार महिनादेखि मलेशियाका लागि श्रमिक आपूर्ति ठप्प भएको छ । सरकारले विभिन्न एजेन्सीका नाममा नेपाली कामदार ठगीमा पर्दै आएको भन्दै ती एजेन्सी खारेजी गरिदिएको थियो ।