प्याजको प्रयोग गरेर घर सफाइ |
खानामा स्वाद बढाउन प्याजको प्रयोग गरिन्छ । तर, यसका फाइदा यतिमै सीमित भने छैन । घरको सफाइमा समेत प्याज अति उपयोगी मानिन्छ । प्याजको ताजा गन्धले भान्छामा हुने झिँगा, भुसुनालगायत जीव निष्क्रिय बनाउँछ । प्याजको गन्ध कतिपयका लागि अरुचिकर पनि हुन्छ । तर, घरको सफाइमा भने त्यो महत्वपूर्ण हुन्छ । प्याजको प्रयोगबाट केकस्ता दागको सफाइ गर्न सकिन्छ त ? मदन लामिछानेले तयार पारेको एक रिपोर्टː
१. ग्रिलको दाग
ग्रिलको कडा खालको दाग सफा गर्न प्याजको प्रयोग गर्न सकिन्छ । ग्रिल गरिसकेपछि त्यसमा रहिरहने दागबाट छुटकारा पाउन एक टुक्रा प्याज त्यसमा दलेर सफा गर्दा सजिलै निकाल्न नसकिने दाग पनि हटाउन सकिन्छ ।
२. ग्यास चूलोमा लाग्ने दाग
खाना बनाउँदा ग्यास चूलोमा लाग्ने गरेको कडा दाग सफा गर्न पनि प्याजको प्रयोग उपयुक्त हुन्छ । प्याजको रसले दाग सफा गर्दा छिट्टै हट्छ । ग्यास चूलोको राम्रो सफाइका लागि प्याजसँगै नूनको पनि प्रयोग गर्न सकिन्छ ।
३. इग्जाष्ट फ्यानको दाग
इग्जाष्ट फ्यानमा लाग्ने विभिन्न प्रकारको मैलो दाग पनि प्याजको सहयताले सफा गर्न सकिन्छ । इग्जाष्ट फ्यानमा रहेको निकै पुरानो दागसमेत प्याजको प्रयोगले हटाउन सकिन्छ ।
४. जालीको दाग
झ्याल र ढोकामा प्रयोग हुने जालीमा अड्केर बसेको फोहोर र धूलो पनि प्याजले हटाउन सकिन्छ । यसको गन्धले कीरा फट्याङ्ग्राबाट पनि मुक्ति दिन्छ ।
६. धातु चम्काउन
ब्रास अथवा कपरको धातु चम्काउन पनि प्याजको प्रयोग उपयुक्त मानिन्छ । प्याजले धातु सफा र चम्किलो बनाउँछ ।