राफसाफ कोषलाई सञ्चालनमा ल्याउन बोर्डको निर्देशन |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेलाई राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई सञ्चालनमा ल्याउन नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । धितोपत्र सूचीकरण तथा कारोबार निवमावलीको व्यवस्था अनुसार स्थापना भएको राफसाफ कोषमा नगन्य रुपमा रकम जम्मा भएको जनाउदै बोर्डले त्यसलाई कार्यान्वयनमा ल्याउन उक्त निर्देशन दिएको हो ।
उक्त रकमलाई राफसाफ सुनिश्चितता हुने गरि कार्यन्वयनमा आउन नसक्दा समयमा नै लगानीकर्तालाई धितोपत्र बिक्री वापतको रकम भुक्तानी हुन नसकिरहेको र दोस्रो बजार निरन्तर वृद्धि भइरहेको अवस्थामा यसमा निहित प्रणालीगत जोखिमलाई न्यूनीकरण गर्न आवश्यक भएकोले धितोपत्र कारोबारलाई समयमा नै राफसाफ गराई बजारलाई व्यवस्थित र अनुशासित राख्न आवश्यक रहेको बोर्डले जनाएको छ ।
नेप्सेले व्यवस्था गर्ने राफसाफ कोषमा धितोपत्र बजार (नेप्से), धितोपत्रको राफसाफ सेवा प्रदान गर्ने संस्था र समान रुपमा सम्पुर्ण राफसाफ सदस्यहरु (धितोपत्र दलालहरु) को योगदान हुने गरी चालु आर्थिक वर्ष भित्रै ५० करोड, आर्थिक वर्ष २०७८÷७९ भित्र थप ३० करोड र आर्थिक वर्ष २०७९∕८० भित्र २० करोड गरी कुल एक अर्ब रमकको कार्यान्वयन योग्य कोष स्थापना र सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ ।
उक्त कोषमा धितोपत्र बजारले समग्रमा कोषको ५० प्रतिशत, राफसाफ सेवा प्रदान गर्ने संस्थाले समग्रमा कोषको ३० प्रतिशत र राफसाफ सदस्यहरु (धितोपत्र दलालहरु) ले समग्रमा कोषको २० प्रतिशत रकम योगदान रहने व्यवस्था गरेको छ ।
उक्त रकमको अतिरिक्त कोषलाई जोखिममा आधारित हुने गरी सुदृढ बनाउन धितोपत्र बजार (कोष व्यवस्थापक) ले धितोपत्र दलालहरुको पछिल्लो महिनाको औसत दैनिक कारोबार रकमको १ प्रतिशत रकम चालु महिनाको १५ गतेभित्र थप गर्न लगाई गतिशील योगदानको रुपमा कोषमा जम्मा गर्नुपर्नेछ ।
थप रकम निर्धारण गर्दा मासिक रुपमा पुनरावलोकन गर्ने र यसरी थप गर्ने रकम पछिल्लो महिनाको गतिशील योगदान भन्दा धेरै भएमा फरक रकम मात्र राफसाफ कोषमा धितोपत्र दलालले थप योगदान गर्नुपर्ने बोर्डले जनाएको छ ।
राफसाफ कोषको व्यवस्थापन सम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलन अनुरुप हुने गरी धितोपत्र बजारले कोषको संचालक समितिको रुपमा र राफसाफ सेवा प्रदान गर्ने संस्थाले कोष व्यवस्थापकको रुपमा गर्नुपर्नेछ ।
उक्त व्यवस्था कार्यान्वयन आएपश्चात धितोपत्र कारोवारको रकम समयमै राफसाफ तथा फछ्र्यौट हुने सुनिश्चितता भई थप प्रभावकारी रुपमा यथासमयमा नै सम्पन्न हुने, धितोपत्र कारोवारमा निहित प्रणलीगत जोखिम न्यूनीकरण हुने, लगानीकर्ताले समयमा नै धितोपत्र बिक्री वापतको रकम प्राप्त गर्ने र धितोपत्र कारोवार थप गतिशील हुने बोर्डको विश्वास छ ।