रौतहटमा शव जलाउने विषयमा झडप हुँदा २३ राउण्ड हवाई फायर, १७ जनाभन्दा बढी घाइते |
रौतहट । रौतहटको गरुडा नगरपालिका–९ रघुनाथपुरको श्रीपुरमा शव जलाउने विषयमा दुई समूहबीच झडप हुँदा आज प्रहरीले २३ राउण्ड हवाई फायर र ३२ सेल अश्रुग्यास हानेको छ । झण्डै दुई घण्टासम्म भएको उक्त झडपमा ५ प्रहरीसहित १७ जनाभन्दा बढी घाइते भएका छन् ।
गाउँछेउमा रहेको चाँदी खोलामा पहिला देखि नै शव जलाउने गरेका स्थानीयलाई अर्को समूहले सो स्थानमा शव नजलाउन भनेपछि झडप भएको थियो ।
झडपमा घाइते भएका छविलाल सहनी, रमेश सहनी, सुरेन्द्र सहनी, सुनील सहनी, शम्भु सहनीलगायतको गरुडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीतर्फ हवलदार सञ्जयकुमार कुर्मी, प्रहरी जवान विजय रौनियार र परशुराम साहसहित पाँच जना घाइते भएका छन् । उनीहरुको टाउको र जिउमा चोट लागेकोले उपचार भइरहेको प्रहरीले बताएको छ ।
प्रहरी हस्तक्षेप परिचालन गरिएपछि अहिले अवस्था सामान्य रहे पनि प्रहरी परिचालन यथावत् राखिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले उक्त घटना गराउन मुख्य संलग्नता रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको बताएको छ ।