धनगढीलाई राजधानी तोक्न माग गर्दै प्रदर्शन |
धनगढी । धनगढीलाई राजधानी नतोकेको विरोधमा त्यहाँका वासिन्दाले प्रदेशसभा भवन बाहिर प्रदर्शन गरेका छन् । संसदीय समितिले प्रदेश ७ को राजधानी गोदावरी नगरपालिका ४ मा तोकेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
राज्यले ठूलो लगानी धनगढीमा गरिसकेको अवस्थामा भू−माफिया र वन तस्करसँग मिलेर गोदावरीमा राजधानी तोक्ने प्रस्ताव राखिएको नागरिक समाजका प्रतिनिधिले बताएका छन् ।
धनगढी उप−महानगरपालीकाका प्रमुख नृपबहादुर वडले राज्यले करोडौ लगानी धनगढीमा लगाएको बताए । उनले भने,’सुनियोजित रुपमा तस्करहरु मिलेर वन फडानी गरेर संरचना बनाउनु गलत हो ।’
प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाङ्कनकालागि गठित विशेष सुझाव समितिको प्रतिवेदन मंगलबार प्रदेश सभामा पेश गरिएको थियो ।
सासंद तारा लामा तामाङको नेतृत्वमा गठन भएको संसदीय समितीले तयार पारेको प्रतिवेदन प्रदेश सभामा पेश गरिएको हो । संसदीय समितीले प्रदेशको राजधानी गोदावरी नगरपालिका ४ तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाव दिएको छ ।