सेयर बजारमा बजेटको सकारात्मक असर, सर्वाधिक कारोबारसँगै नेप्से नयाँ उचाइमा |
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आएको भोलि पल्ट आइतबार सेयर बजार सकारात्मक देखिएको छ । सेयर बजारले छाटो समयका लागि सेयर कारोबार गर्नेलाई पुँजीगत लाभकर वृद्धि गरेको छ । यसले बजारमा नकरात्मक प्रभाव पर्नसक्ने आकलन थियो ।
बजेटले गरेका अन्य व्यवस्था र निजी क्षेत्रले समेत बजेटको स्वागत गरेकाले यसको सकारात्मक असर सेयर बजारमा परेको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेर २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेको छ ।
अझ सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस अघि पौने १५ अर्बको कारोबार भएर रेकर्ड राखेकोमा आइतबार त्यो रेकर्ड ताड्दै कारोबार रकम १७ अर्ब नाघेको छ ।
नेप्सेले नयाँ उचाइ चुमेसँगै १३ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ज्योति विकास बैंक, घलेम्दी हाइड्रो, आँखुखोला जलविद्युत, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक शाइन डेभलपमेन्ट बैंक, सोल्टी होटल, आरियन्टल होटल, खानीखोला हाइड्रो, जोशी हाइड्रो लगायतका कम्पनीहरु परेका छन्।
यस दिन बरुण हाइड्रोको शेयरमूल्य सर्वाधिक ६.५६ प्रतिशत घटेको छ। त्यसैगरी, हिमालयन उर्जाको शेयरमूल्य ६.२६ प्रतिशत घटेको छ।