नेपाल–चीन द्विपक्षीय ऊर्जा संयन्त्रको बैठक भोलिदेखि | ऊर्जा तथा जलविद्युत्मा लगानी भित्र्याउने मुख्य उजेण्डा

काठमाडौँ । नेपालमा पहिलो पटक नेपाल र चीनबीच दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक बस्ने भएको छ । ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले भोलि बिहीवार उक्त बैठक बस्न लागेको हो ।
बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्यायले नेतृत्व गर्नुहुनेछ भने चिनियाँ सरकारका तर्फबाट पनि ऊर्जा मन्त्रालयका उच्च अधिकारीको सहभागिता रहनेछ । बैठकमा लागि चिनियाँ अधिकारी आज यहाँ आइपुग्दै छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको सहमतिअनुसार नै बैठकको आयोजना गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ ।
सोही भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र उनका चिनियाँ समकक्षीबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो ।
ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा प्रभावकारी रूपमा काम गर्ने र नेपालमा चिनियाँ लगानी भित्र्याउन वातावरण बनाउने उक्त बैठकको लक्ष्य रहेको मन्त्रालयले बताएको छ ।
असोज ३ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग र नेपालका लागि चिनियाँ राजदूत यू होङबीच भएको भेटावार्तामा समेत ऊर्जाको क्षेत्रमा भई आएका सहकार्य र द्विपक्षीय हितका बारेमा छलफल भएको थियो ।
सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव र सहसचिवको नेतृत्वका दुई संयन्त्र बनाएको छ । प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा गल्छी–रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा सहमति भएको थियो । यस्तै, संखुवासभा हुँदै चीनको तिब्बत जोड्ने अर्काे अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा पनि प्रस्ताव गरिएको छ । बैठकमा नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठक, ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विविध क्षेत्रमा छलफल हुने र एउटा समझदारी गर्ने कार्यक्रम रहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले यसअघि भएका सहमति तथा आगामी दिनमा हुन सक्ने लगानीका विविध पक्षमा द्विपक्षीय संयन्त्रको बैठकमा छलफल हुने जानकारी दिए । उनले सरकारले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने र आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने लक्ष्य राखेको सन्दर्भमा वैदेशिक लगानी जरुरी भएकाले पनि सबै पक्षसँग मिलेर काम गर्न खोजिएको जानकारी दिए ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दिनेशकुमार घिमिरेले द्विपक्षीय ऊर्जा संयन्त्रकोे बैठकमा राखिने एजेण्डाका बारेमा मोटामोटी तयारी भएको जानकारी दिए । उनले बैठकमा अन्तरदेशीय प्रसारण लाइन निर्माण, नेपालमा लगानीका लागि आग्रह तथा ऊर्जा व्यापारका विविध आयामका बारेमा छलफल हुने जानकारी दिए । सरकारले चीनसँग गरेको सम्झौताअनुसार संयुक्त कार्यान्वयन संयन्त्र निर्माण गरिसकेको छ ।
बैठकमा द्विपक्षीय ऊर्जा संयन्त्रको बैठकमा नेपालको ऊर्जा क्षेत्रमा चिनियाँ लगानीका विषयमा महत्वपूर्ण छलफल हुने र त्यसले दुवै देशको ऊर्जा क्षेत्रलाई फाइदा पुग्ने भएकाले त्यसले सम्भावनाको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ ।