कालिका पावरको आईपीओ बाँडफाँड भयो | १ लाख १३ हजारलाई १० कित्ता
काठमाडौं । कालिका पावरको आईपीओ बाँडफाँड भएको छ । गोलाप्रथामार्फत १ लाख १३ हजार १ सय ७७ जना आवेदनकर्तालाई १० कित्ताको दरले परेको छ ।
कम्पनीले गत भदौ २८ गतेदेखि असोज १ गतेसम्म १२ लाख कित्ता आईपिओ बिक्री खुला गरेको थियो । जसमा २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको ११ लाख १६ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको हो ।
तर कर्मचारीलाई छुट्याइएको सेयरमध्ये १५ हजार ७७० कित्तामा आवेदन नपरेपछि सर्वसाधारणलाई नै उक्त शेयर थप गरी बाँडफाँड गरिएको बिक्री प्रबन्धक ग्लोबल आईएमइ क्यापिटलले जानकारी दिएको छ ।
१२ करोडको आईपिओका लागि ८० करोड ६ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । ८० लाख ६ हजार ९९० कित्ता सेयरका लागि आवेदन परेकोमा १८ हजार ७८० कित्ता सेयरका लागि दिएको आवेदन रद्द भएको छ ।
१४६ जना आवेदकको आवेदन रद्ध भएको हो । १२० वटा दोहोरो आवेदनको कारण र २६ वटा आवेदन कम्पनीले माग गरेको कारण रद्द भएको हो । प्राथामिक निष्काशनमा प्राकृतिक व्यक्तिले मात्र आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।