भृकुटी मण्डपमा जुत्ताचप्पल दशैं मेला शुरु | उत्पादन लागतमै उपलब्ध गराउने
काठमाडौं । नजिकिँदै गएको दशैंतिहारलगायतका चाडबाडलाई लक्षित गरि जुत्ताचप्पल मेलाको आयोजना गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा भई रहेको महाकुम्भ मेला दशैंसम्म लाग्ने छ । नेपाल जुत्ताचप्पल उद्योग ब्यवसायी संघको आयोजनामा सुरु भएको मेलामा जुत्ता उत्पादकहरुले मेलामा फ्याक्ट्रीमा जुत्ता उत्पादन गर्न लाग्ने लागतमै जुत्ता उपलब्ध गराएको दावी गरेका छन् ।
राजधानीको मृकुटीमण्डप प्रवेशद्वारसँगै रहेको खाली जमिनमा सुरु भएको मेलामा स्वेदेशी जुत्ताचप्पल लगाउने बानी बसाउन लागत मूल्यमै जुत्ता चप्पल उपलब्ध गराएको संघको भनाई छ । होलसेलर, डिलर, रिटेलरलाई दिनु पर्ने कमिसन कटाएर सिधै ग्राहकलाई बेच्न पाइने भएकाले सस्तोमा जुत्ताचप्पल उपलब्ध गराउन सकिएको बताइएको छ ।
सहभागी कम्पनीले २ सयभन्दा बढी मोडलका नयाँ जुत्ता मेलामै सार्वजनिक गरेका छन् ।। त्यसबाहेक यसअघि सार्बजनिक भएका झण्डै ८ सय मोडलसहित मेलामा १ हजार मोडलभन्दा बढी जुत्ताचप्पल उपलब्ध रहेको आयोजकको भनाई छ । मेलामा पार्टी सुज, क्याजुअल सुज, स्पोर्टस सुज, क्वाटर बुट, फुल बुट, अफिसर बुट, महिलाको जुत्ताचप्पल उपलब्ध छन् ।
महाकुम्भ मेलामा केटिएम शुज, भेनस शुज, प्यारागन फुटवेयर, फुटस्टेप सुज, हाइलाइफ शुज, वकर शुज, जाल्पा फुटवेयर, सुस्टु फेसन फुटवेयरलगायतका जुत्ताचप्पल उत्पादक कम्पनीहरुको सहभागीता छ । मेला विहान ९ देखि साँझ ७ वजेसम्म सञ्चालन भइरहेको छ ।