नेपाल चार्टड एकाउन्टेन्ट्सले ३ सय शय्या क्षमताको आइसोलेसन केन्द्र सञ्चालन गर्ने |
काठमाडौं । नेपाल चार्टड एकाउन्टेन्ट्स संघले अक्सिजनसहित ३ सय शय्या क्षमताको आइसोलेसन केन्द्र सञ्चालन गर्ने भएको छ ।
नागार्जुन नगरपालिका–१, ईचङ्गुनारायण रानीवनस्थित नेपाल सरकारको खाली रहेको ब्लक ए भवनमा जेठ ८ गतेदेखि सञ्चालन गर्ने भएको हो।
उक्त आइसोलेसन केन्द्र अनुमतिप्राप्त सर्वांग स्वास्थ्य सदन सेवा केन्द्र प्रालिको प्राविधिक सहयोगमा एक्यानले अक्सिजन बेडसहितका ३ सय शय्याको आइसोलेसन सञ्चालन गर्नेछ।
यस कार्यमा, स्थानीय सरकार, स्थानीय जनसमुदाय, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवालाहरूको साथ र समन्वय प्राप्त भएको संस्थाले जनाएको छ।
कोरोनाको सामान्य लक्षण देखिनासाथ अक्सिजनको ब्याकअप र स्वास्थ्यकर्मीको २४ सै घण्टा निगरानीमा आइसोलेसन सेवा उपलब्ध गराउनेछ। सुरुमा ५० शय्या अक्सिजनयुक्त रहने आइसोलेसन केन्द्र एक हप्तामा पूर्ण क्षमतामा सञ्चालन हुनेछ ।
‘महामारीको यस चुनौतीपूर्ण समयमा मानव जीवनको रक्षा हामी सबैको प्राथमिकतामा पर्नुपर्छ र यस आइसोलेसन केन्द्रमा बिरामीले निःशुल्क सेवा प्राप्त गर्नेछन्,’ सर्वांग स्वास्थ्य सदन सेवा केन्द्र प्रालि, नेपाल चार्टड एकाउन्टेन्ट्स संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।