विकासोन्मुख राष्ट्रहरूको बीमा सम्मेलन भोलि मंगलवारदेखि |
काठमाडौं । विकासोन्मुख राष्ट्रका बीमा कम्पनी र रि इन्स्योरेन्स कम्पनीको छाता संस्था एशोसिएशन अफ इन्युरर्स एण्ड रि इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज (एआईआरडीसी) को २१औं सम्मेलन भोलि मंगलवारदेखि काठमाडौंमा शुरू हुँदै छ । एआईआरडीसीको प्रत्येक २ वर्षमा सम्मेलन हुने गर्छ । यसपालिको सम्मेलन नेपालले आयोजना गर्न लागेको हो । सम्मेलनपछि हाल उपाध्यक्षको जिम्मेवारीमा रहेका विजयबहादुर शाहले अध्यक्षको जिम्मेवारी प्राप्त गर्नेछन् ।
सम्मेलनमा विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरू, पुनर्बिमा कम्पनी, बीमा क्षेत्रका नियामक निकायहरूको सहभागिता रहनेछ । प्राकृतिक विपत्तिमा बीमा क्षेत्रका लागि अवसरको खोजी गर्न उक्त सम्मेलन आयोजना गरिने भएको हो ।
सम्मेलनमा प्राकृति विपत्तिको जोखिम न्युनीकरणमा रि इन्स्योरेन्स कम्पनीको भूमिका, बीमा कम्पनीहरूको डिजिटलाइजेशन, माइक्रो इन्स्योरेन्सलगायतका विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षलाई बीमा क्षेत्रको नियमनका क्रममा उपयोग गर्ने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए ।
५ सय नेपाली र १ सय ५० विदेशी गरी सम्मेलनमा ६ सय ५० जना बीमाक्षेत्रसँग सम्बद्ध व्यक्तिहरूले प्रत्यक्ष सहभागिता रहने बताइएको छ । एआईआरडीसीमा नेपालसहित २९ वटा विकासोन्मुख राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनी र नियामक निकाय सदस्य रहेका छन् ।
सम्मेलन आयोजनाका लागि २ करोडभन्दा बढी रकम संकलन
दुईदिने उक्त सम्मेलनको आयोजनाका लागि बीमा समितिले २ करोडभन्दा बढी रकम संकलन गरेको छ । सम्मेलनका लागि प्रत्येक बीमा कम्पनीले ४ लाख, बीमा समिति र नेपाल पुनर्बीमा कम्पनीले ३०÷३० लाख रुपैयाँ संकलन गरेका छन् । ३८ वटा बीमा कम्पनी र बीमा समिति र पुनर्बीमा कम्पनीहरूको रकम जोड्दा २ करोडभन्दा बढी रकम हुन्छ ।
सम्मेलनका लागि यसरी रकम असुलेकोमा केही बीमा कम्पनीहरू भने असन्तुष्ट रहेको पाइएको छ । वार्षिक करोडौं रुपैयाँ आम्दानी गर्ने बीमा समितिले त्यसरी त्यस्तो प्रयोजनका लागि भनेर रकम असुलेपछि बीमा कम्पनीहरू असन्तुष्ट भएका हुन् ।
बीमा समितिले तोकेको उक्त रकम उपलब्ध गराउने कम्पनीलाई मात्र सम्मेलनमा सहभागी हुन दिइन्छ । तर, विदेशी कम्पनीले भने ५०० अमेरिकी डलर तिरे पुग्छ ।