दयाहाङ निर्देशित ‘मितज्यू’ नाटक युट्युबबाट सार्वजनिक |
काठमाडौं । अभिनेता दयाहाङ राईको निर्देशन रहेको नाटक ‘मितज्यू’ युट्युवबाट सार्वजनिक गरिएको छ । केही सातादेखि जारी निषेधाज्ञामा घरमै बस्न बाध्य सर्वसाधारणलाई हेर्न वातावरण मिलोस् भन्ने उद्देश्यले मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गरेको हो ।
सोमनाथ खनालद्वारा लिखित नाटक मितज्यू दुईजना वृद्धहरुले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्लाशब्याक’को कथा हो । नेपाली संस्कृतिमा लोकप्रिय रहेको मितेरी साइनोअन्र्तगत एक जोडा मितको अन्तरकुन्तर कथा यस नाटकमा प्रस्तुत गरिएको छ ।
मितेरी साइनोसँगै उनीहरुका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरुले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको छ । पञ्चायतकालीन नेपालको पूर्वी भेगको कथालाई नाटकमा दुई वृद्धहरुको स्मृतिमार्फत वर्तमान समयमा भनिएको यो नाटकमा ‘फेन्टासी’को भरपूर उपयोग गरिएको छ तर फेन्टासीसँगै दुई वृद्धहरुको जीवनदर्शन पनि समेटिएको छ ।
७ वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिको रुपमा मण्डला नाटकघरमा मञ्चन गरिएको नाटक मितज्यूलाई डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्न पुर्नलेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारहरुका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायाँकन गरिएको हो । नाटकको छायाँकन चैत महिनाको अन्तिम साता गरिएको थियो ।
नाटकमा बुद्धि तामाङ, विजय बराल, सृजना सुब्बा, उमेश तामाङ, विकास जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपाने लगायतको मुख्य भूमिका रहेको छ । राजन खतिवडाको मञ्च परिकल्पना रहेको नाटकलाई शैलेन्द्रध्वज कार्कीले खिचेका छन् भने नाटकमा बेनुका राईको संगीत सुनिनेछ । नाटक निर्माण तथा छायाँकनमा ५० भन्दा बढी रंगकर्मी तथा प्राविधिकहरुको संलग्नता बताइएको छ ।