बैंकहरूले कर्जाको ब्याजदर घटाए | ब्याजदर ११ प्रतिशतमा
काठमाडौं । एक पछि अर्को गर्दै बैंकहरुले कर्जाको व्याजदर घटाउन थालेका छन । हाल कर्जाको ब्याजदर घटेर ११ प्रतिशतसम्म आइसकेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।
साउन महिनादेखि नै बैंकहरुले ब्याजदर घटाउन शुरु गरिसकेका थिए । हाल कर्जाको ब्याजदर ११ देखि १२ प्रतिशतमा रहेको अध्यक्ष ढुंगानाले बताए । मौद्रिक नीतिका केही नयाँ व्यवस्थाका कारण व्याजदर घट्ने बताइए पनि बैंकहरुले ब्याजदर नघटाएको भन्दै निजी क्षेत्रले असन्तुष्टि व्यक्क्त गरेको थियो ।
दशैंपछि भने कर्जा लिने व्यवसायीहरुलाई झनै सहज हुने ढुंगानको भनाइ छ । ब्याजदर बेस रेटको आधारमा तय हुने हुँदा अब असोज महिनासम्मको बेस रेट आए पछि ब्याजदर कायम हुने उनको भनाई छ ।
पहिलो त्रैमास (साउन, भदौ र असोज) को रिपोर्टमा नयाँ बेस रेट आउने र त्यो बेस रेटपछि बैंकहरुको ब्याजदर घटाउने उनको दाबी छ । यसअघि बैंकको व्याजदर १६ प्रतिशत भन्दा बढी पुगेको थियो । लगानी योग्य पुँजीको अभाव भएको भन्दै बैंकहरुले आकर्षक ब्याज दिएर निक्षेप लिएका थिए । बैंकहरुले निक्षेपमै ११ प्रतिशतसम्म ब्याज दिए पछि कर्जाको ब्याज १६ प्रतिशत भन्दा बढी पुगेको थियो ।