सरकारले गर्ने खाद्य सुरक्षा तथा गुणस्तर परिक्षणमा सहयोग गर्छौː महासंघ |
काठमाडौं । ल्यावले गुणस्तरहिन खाद्य पदार्थ हो भनेर प्रमाणित गरेमा त्यस्ता व्यवसायीलाई कारबाही गर्नु पर्ने सम्बन्धित क्षेत्रका व्यवसायीहरुले बताएका छन् ।
खाद्य सुरक्षा, गुणस्तर एवं उपभोक्ता हित संरक्षणसम्बन्धी कार्यशाला गोष्ठीमा पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका उपाध्यक्ष कृष्णप्रसाद पाण्डेले सोकुरा बताएका हुन् । सरकारले गर्ने कारबाहीमा संघ, महासंघले सहयोग गर्नुपर्दछ, उनले भने । कुनै एक व्यवसायीको गल्तीले हजारौं व्यवसायीको अर्बौंको लगानी डुब्न जानेतिर सबैको ध्यान जानु पर्नेमा पाण्डेले जोड दिए । इभेन्ट एन्ड भेन्यु एसोसियसन अफ नेपाल (पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ) काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहकार्यमा सो कार्यशाला आयोजना गरिएको थियो ।
कार्यशालालाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले व्यवसायीहरुले पार्टी प्यालेस तथा क्याटरिङ सञ्चालन गर्दा खानामा सजगता अपनाउनु पर्ने बताए । गौचनले भने, यस्ता कार्यशालाले आम उपभोक्ता माझ पर्न गएका केही भ्रम निवारण गर्न र स्वास्थ्यकर खाना तथा सेवा प्रदान गर्न सहयोगी हुने बताए ।
कार्यशालामा काठमाडौं जिल्लाका संघ आबद्ध एक सय ५० जनाको सहभागिता रहेको थियो । कार्यशालामा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण भगवान श्रेष्ठ, खगेन्द्रराज जोशी र खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागका ईश्वर सुवेदीले ब्यवसाय के कसरी अगाडि बढाउने भन्नेबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।