थाइल्याण्डबाट २४ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल ल्याइदै |

काठमाडौं । नेपालबाट ११ यात्रु लिएर थाइल्याण्डको राजधानी बैंकक गएको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्कँदैछ । यो जहाजले काठमाडौं आउने क्रममा भने थाइल्याण्डबाट थाइ सरकार र गैरआवासीय नेपाली संघ (थाइल्याण्ड)ले दिएका अक्सिजन कन्सन्ट्रेटर नेपाल ल्याउने भएको छ ।
कम्पनीका महाप्रवन्धक अनिल मानन्धरका अनुसार जहाजमाले कुल २४ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल ल्याउने छ । ‘कुन निकायबाट कति संकलन भएको थाहा छैन,’ उनले भने, ‘तर, यो थाइ सरकार र एनआरएन थाइल्याण्डले नेपाललाई गरेको सहयोग हो ।’
नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान रोकिएपछि थाइल्याण्डमा अध्ययनरत केही विद्यार्थी र यहाँ रोकिएका नागरिक लगेर आज बिहान श्री एयरलाइन्सको जहाज बैंकक गएको हो ।
एनआरएन ओमानले संकलन गरेका अक्सिजन सिलिण्डर ल्याउन भने नेपाल एयरलाइन्सको जहाज शनिबार ओमन उड्दैछ ।