तल्लो मोदी जलविद्युत्बाट दशैंअघि नै उत्पादन शुरू हुँदै | राष्ट्रिय प्रसारण लाइनमा २० मेगावाट विजुली थपिँदै

कुष्मा । पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैंअघिदेखि उत्पादन शुरू गर्ने भएको छ । २० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि बल्ल अब दशैंअघिदेखि मात्र उत्पादन शुरू गर्ने जानकारी दिएको हो ।
स्थानीयवासीको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले निर्माणमा ढिलाइ भएकाले उत्पादन पनि ढिला हुन गएको कम्पनीले बताएको छ । आयोजनाले ६० महिनामा उत्पादन शुरु गर्ने लक्ष्य लिएर वि.सं. २०६९ को साउनमा काम थालेको हो ।
आयोजना प्रमुख पवनकुमार यादवका अनुसार वर्षामा पहिरो जाने, भासिने र आयोजनाभित्रै बाढी पस्नेजस्ता प्राकृतिक जटिलताका कारण तोकिएको मितिमा निर्माण सम्पन्न नभएको हो । उनले भने, ‘अब हामी छिट्टै नै उपलब्धि देखिने गरी काम गर्दै छौं ।’
निर्माणकै क्रममा देशमा विभिन्न चरणका चुनाव भएका कारण पनि ढिलाइ भएको उनको कथन छ । अहिले दशैंअगाडि नै उत्पादन शुरू गर्ने गरी तीव्र गतिमा काम भइरहेको उनले बताए । वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको उक्त आयोजनाको पावरहाउस कुष्मा नगरपालिका–८ परादीमा राखिएको छ ।
रू. तीन अर्ब ६० करोडको लागत स्टिमेटमा निर्माण शुरू भएको सो आयोजनाको ९५ प्रतिशत काम सकिएको दाबी निर्माण पक्षले गरेको छ ।