अरुण भ्याली हाइड्रोपावरको नाफा २१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०७ पैसा |
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २१ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।
गत आर्थिक वर्षको चैत मशान्तसम्ममा ५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ७ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको तुलनामा २१.६७ प्रतिशतले धेरै हो ।
विद्युत विक्रीबाट हुने आम्दानी घटेको भए पनि अन्य स्रोतमार्फत हुने आम्दानी बढ्दा उसको नाफा बढे्को हो ।
कम्पनीको विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी भने २२.२९ प्रतिशतले घटेर ४ करोड २५ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यसै अवधिमा उसले विद्युत बिक्रीबाट ५ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी ४ करोड ९२ लाख रुपैयाँबाट बढेर ६ करोड ८२ लाख पुगेको छ ।
हाल १ अर्ब ४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ९ करोड ७७ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ०७ पैसा छ भने प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ३२ पैसा छ ।