निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह, प्रदेश उपाध्यक्षहरू पनि चयन |
काठमाडौं । निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको २०औं साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शनिवार भएको मतदानमा पूर्ववरिष्ठ उपाध्यक्ष रवि सिंह महासंघको अध्यक्षमा विजयी भएका छन् । उनी आफ्ना प्रतिस्पर्धी यज्ञध्वज कार्की, रामशरण देउजा र पुरुषोत्तम मानन्धरलाई पराजित गरेर विजयी भएका हुन् ।
त्यस्तै, महासंघको वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डे विजयी भएका छन् । एशोसियट्सतर्फको उपाध्यक्षमा आङ दोर्जी लामा, महासचिवमा रोशन दाहाल, कोषाध्यक्षमा हिरण श्रेष्ठ, आन्तरिक तर्फको उपमहासचिवमा नरहरि थपलिया र नीतिगततर्फको उपमहासचिवमा टंक चौलागाई निर्वाचित भएका छन् ।
सभाले महासंघका प्रदेश उपाध्यक्षहरू पनि चयन गरेको छ । जस अनुसार प्रदेश १ को उपाध्यक्षमा धीरेन्द्रकुमार दाहाल, प्रदेश २ को उपाध्यक्षमा सुरेन्द्रप्रसाद सिंह, प्रदेश ३ को उपाध्यक्षमा पेम्बा लामा, गण्डकी प्रदेशको उपाध्यक्षमा राजेन्द्र पहारी, प्रदेश ५ बाट टोपबहादुर रायमाझी, कर्णाली प्रदेशबाट रामबहादुर खड्का र प्रदेश ७ बाट टेकबहादुर सेठ्ठी निर्वाचित भएका छन् ।