सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो |
काठमाडौं । दशैं नजिकिदै गर्दा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ खोल्न नमाने पछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो ।
हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा हिजो भएको वार्तामा हालै भएको इन्धनको मूल््यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएकोछ । यो सहमतिअनुसार आजबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ ।
समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति पनि भएको छ ।
वर्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ । सिण्डिकेट कायम गरेको भन्दै सरकारले २ सय ४५ समितिको बैंक खाता रोक्का गरेको थियो ।
शनिबारको वार्तामा यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति पनि भएको छ । तर, मिति भने तोकिएको छैन ।