चिलिमेको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति? |
काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म्मा ५२ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ५१ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको तुलनामा २.९२ प्रतिशतले कम हो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेको भएपनि प्रशासनिक तथा मर्मत संभार खर्च बढेपछि नाफा घटेको देखिन्छ । त्यस्तै कम्पनीको वित्तीय आम्दानी घट्दा समेत उसको नाफामा असर पुगेको छ ।
गत आर्थिक वर्षको चैत मशान्तसम्ममा बिजुली बेचर ८० करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा बिजुली बेचेर ८० करोड ९२ लाख रुपैयाँ कमाएको छ जुन ०.६९ प्रतिशतले मात्रै धेरै हो ।
कम्पनीको वित्तीय आम्दानी ६ प्रतिशतले घटेको छ भने खर्च बढेको छ । कम्पनीको प्रशासनिक खर्च ४ करोड १३ लाखबाट ५१ प्रतिशतले बढेर ६ करोड २८ लाख पुगेको छ ।
हाल ६ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ २७ पैसाबाट घटेर १० रुपैयाँ ८३ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ४७ पैसा र मूल्य आम्दानी अनुपात ६०.४७ गुणा छ ।