शिक्षा विधेयकप्रति एनब्याब्सन काठमाडौंको आपत्ति, बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र | संशोधन नभए जस्तोसुकै आन्दोलन गर्न पनि तयार
काठमाडौं । सरकारले हालै जारी गरेको अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक २०७५ का विभिन्न प्रावधानहरूमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनब्याब्सन) काठमाडौंले आफ्नो गम्भीर असहमति रहेको बताउँदै ज्ञापनपत्र पेश गरेको छ । एन प्याब्सन काठमाडौंका अध्यक्ष विष्णु पराजुलीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रवार ज्ञापनपत्र बुझाएको हो ।
संस्थाका केन्द्रीय नेतादेखि जिल्लाका पदाधकारी लगायत सदस्यहरूको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय बबरमहलमै पुगेर उक्त ज्ञापनपत्र पेश गरेको एन ब्याब्सनले जानकारी दिएको छ ।
सरकारले जारी गरेको अनिवार्य तथा निशुल्क शिक्षा विधेयक २०७५ प्रति एनप्याब्सनको कुनै पनि हालतमा सहमति नरहने र सरकारले पेलेर जान खोजे जस्तोसुकै आन्दोलन गर्नुपरे पनि आफूहरू तयार रहेको एन प्याब्सन काठमाडौंका अध्यक्ष पराजुलीले चेतावनी दिए । निजी विद्यालय सञ्चालनका लागि बेग्लै ऐनको व्यवस्था गर्न पनि एन ब्याब्सन काठमाडौंले सरकारसमक्ष माग गरेको छ ।