सवारीचालकहरूको आन्दोलन स्थगित, सरकारसँग भयो आठबुँदे सहमति |

काठमाडौं । स्वतन्त्र सवारी चालक संघर्ष समितिको आयोजनामा मुलुकी संहिताको विरोधमा भइरहेको आन्दोलन स्थगित भएको छ । यातायात मजदुर र सरकारबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तापछि आठबुँदे सहमति गर्दै आन्दोलन स्थगित भएको हो ।
उक्त सहमतिसँगै यातायात मजदुर गाडी चलाउन तयार भएको वार्तामा सहभागी यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले जानकारी दिए ।
सहमतिमा कुन कुन बुँदा उल्लेख छन् ?
– नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले दिएको ज्ञापनपत्रलाई कार्यान्वयनमा लैजान गृह, भौतिक पूर्वाधार तथा यातायात र कानून, न्याय तथा संसदीय मामिलामा पठाउने भनिएको छ ।
– ट्राफिक संकेत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने र राष्ट्रिय राजमार्गमा निश्चित दूरीमा ठूला सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था गर्ने ।
– सडक दुर्घटना हुँदा निष्पक्ष छानबिन गरी घटनामा दोषी देखिएका जोसुकैलाई कारबाहीको सुनिश्चित गर्ने ।
– सवारीचालकलाई समयसमयमा सडक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।
– ट्राफिक प्रहरीको व्यवहार परिवर्तनका लागि गृहले आवश्यक व्यवस्था मिलाउने, आन्दोलनका क्रममा गिरफ्तारीमा परेका सवारी चालकलाई आजै रिहा गर्ने ।