नेपाली क्रिकेट टोलीको ताज्मानियाकी सांसद आर्चरद्वारा प्रशंसा |

ताज्मानिया । अष्ट्रेलियाको ताज्मानिया राज्यस्थित लन्चेस्टनमा क्रिकेट खेलमार्फत आफ्नो समुदायको प्रतिनिधित्व गर्दै आएको नेपाली टिमलाई यहाँकी सांसद ब्रिजेट आर्चरले खुलेरै प्रशंसा गरेकी छिन् ।
ताज्मानिया राज्यलाई समावेशी र बहुसाँस्कृतिक राज्य बनाउन लन्चेस्टन नेपाली क्रिकेट क्लबले गरेको योगदानको कदर गर्दै उनले भनिन्, ‘तपाइहरुलाई के कस्तो सहयोग चाहिन्छ मलाई भन्नुस, म सहयोग गर्न तयार छु ।’
लन्चेस्टन नेपाली क्रिकेट क्लबले आइतबार आयोजना गरेको दोश्रो बार्षिक साधारण सभामा बोल्दै ताज्मानियन सरकारका मन्त्री माइकल फरगुसन, ताज्मानिया क्रिकेट लिगका अध्यक्ष ड्यारल ह्वाइट र एनआरएनए ताज्मानियाका संयोजक सन्देश परियारले नेपाली क्रिकेट क्लबको थप विकासमा आआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
त्यस्तै, क्लबका अध्यक्ष रामकुमार श्रेष्ठले सांसद आर्चरसँग खेल अभ्यासको लागि एक खेलमैदान उपलब्ध गराइदिन अनुरोध गरेका थिए । करिब दुई महिना अघि लन्चेस्टनका १४ वटा स्थानीय टिमहरुलाई हराउँदै नेपाली क्रिकेट टोली ताज्मानिया क्रिकेट लिगको ए ग्रेडको प्रिलिमिनरी फाइनलमा पुगेको थियो ।
तर बर्षाका कारण स्थगित भएको प्रिलिमिनरी फाइनलमा अंकका आधारमा एक स्थान तल झर्दै ग्रेड एको उपाधि चुम्नबाट भने बञ्चित भएको थियो । त्यससँगै नेपाली टिमले ताज्मानिय इतिहासकै सबैभन्दा ठूलो प्रतिस्पर्धी खेल ताज्मानियन प्रिमियर लिग खेल्ने ढोका खोलेको थियो ।
क्लबको दोश्रो साधारण सभाले रामकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ । उक्त कार्यसमितिको उपाध्यक्ष्मा सुलभ मास्के, सचिवनमा महेश्वर पराजुली, कोषाध्यक्षमा विजयकुमार उपाध्याय, टिम म्यानेजरमा पोषण कोइराला र जनसम्पर्क अधिकृतमा आनन्द अर्याललाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा प्रमित खड्का, गणेश पौडेल र सुर्य सुवेदी चयन भएका छन् भने प्रशान्त खनाल र आदित्य सिंह सल्लाहकारमा चयन भएका छन् । यसैबीच आगामी सिजनमा नेपाली क्रिकेट क्लबले आफ्ना दुई टिमहरुलाई मैदानमा उतार्ने समेत घोषणा गरेको छ ।
दोश्रो साधारण सभाको अवसर पारेर नेपाली क्रिकेटलाई ताज्मानियामा परिचित र स्थापित गराउन गरेको योगदानको कदर गर्दै सम्पूर्ण खेलाडीहरुलाई सम्मान पत्र तथा मेडलहरु वितरण गरेको थियो । सम्मान पत्र र मेडल पाएपछि खेलाडीहरु फोटो खिचाउँदै खुशी साटासाट गरिरहेका थिए ।