२ अर्ब लागतमा बन्ने राष्ट्र बैंक भवनको शिलान्यास | ३० महिनाको सम्झौता भए पनि डेढ वर्षमा सक्न गभर्नरको आग्रह
काठमाडौं । काठमाडौंको थापाथलीमा लागत करिब २ अर्ब रुपैयाँको लागतमा नेपाल राष्ट्र बैंकको अत्याधुनिक भवन बन्ने भएको छ । राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथलीमा निर्माण हुन लागेको उक्त भवनको आज गभर्नर डा. चिरञ्जीवी नेपालले शिलान्यास गरेका हुन् ।
२०७२ सालमा गएको भूकम्पका कारण क्षतिग्रस्त उक्त भवन भत्काई नयाँ निर्माण गर्न पुरातत्व विभागले ०७२ वैशाख २९ गते अनुमति दिएको थियो । पुरातत्व विभागको अनुमति अनुसार पुरानो जग्गाकै क्षेत्रफलभित्र पुरानै स्वरूपमा अत्याधुनिक सामग्रीहरू प्रयोग गरी नयाँ भवन बनाइदिने बताइएको छ ।
राष्ट्र बैंकको थापाथलीमा ४२ रोपनी ३ आना २ पैसा क्षेत्रफल रहेको छ । उक्त जग्गामा मुख्य बैंकिङ कार्यालय, क्यान्टिन–हेल्थ क्लब र सुरक्षा ब्लक गरी ३ वटा ब्लकको माष्टर प्लान तयार पारिएको बताइएको छ ।
उक्त भवन निर्माणका लागि राष्ट्र बैंकले २ अर्ब ५५ करोड २० लाख ३१ हजार ७ सय रुपैयाँ ७३ पैसा अनुमानित लागत स्वीकृत गरेको थियो । भवन निर्माणका लागि राष्ट्र बैंकले गत वैशाख १४ गते बोलपत्र आह्वान गरेकोमा १४ वटा निर्माण कम्पनीले प्रस्ताव दर्ता गरेको थिए । सबैभन्दा कम बोलकबोल गर्ने बीलील–कन्टेक जेभीले १ अर्ब ८७ करोड १० लाख ४० हजार १ सय ५१ रुपैयाँ ४५ पैसा न्यूनतम लागत कबुल गरेको थियो । सोही कम्पनीलाई राष्ट्र बैंकले निर्माणको जिम्मा दिएको छ । ३० महिनाभित्र निर्माण सम्पन्न हुने गरी भवन निर्माणको जिम्मा दिइएको राष्ट्र बैंकले बताएको छ ।
निर्माणका लागि ठेकेदार कम्पनीसँग ३० महिनाको सम्झौता गरिए पनि गभर्नर नेपालले भने १८ महिनामा नै निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् । आफ्नो कार्यकाल सकिन लागेको संकेत गर्दै गभर्नर नेपालले १८ महिनामा नै निर्माण सम्पन्न गर्न आग्रह गरेका हुन् ।
भवन निर्माणका लागि भारतीय तथा चिनियाँ पक्षबाट राम्रो प्रस्ताव आए पनि कानुनी झण्झट र समय धेरै लाग्ने भएकाले स्वदेशी कम्पनीलाई नै दिने निर्णय गरिएको गभर्नर नेपालले बताए । उनले भने, ‘चिनियाँ पक्षले १९ महिनामा नै सक्ने प्रस्ताव ल्याएको थियो तर पनि हामीले स्वदेशी कम्पनलाई नै दियौं ।’