यती एयरलाइन्सले तेस्रो ट्वीन इञ्जिन टर्बोप्रप विमान भित्रायो |
काठमाडौं । यती एयरलाइन्सले मंगलबार एटीआर−७२−५०० जहाज भित्राएको छ । जसको नेपाली दर्ता नम्बर ९एन−एएलएन र उत्पादन क्रम संख्या एमएसएन ७७६ रहेको छ । उक्त विमान फ्रान्सको टुलुस−इटली−इजिप्ट−मस्कट हुँदै काठमाण्डौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयरलाइन्सले जानकारी दिएको छ ।
विमानमा चालक दलका सदस्यहरु क्याप्टेन प्रमोद पौडेल, क्याप्टेन मोद श्रेष्ठ, क्याप्टेन सुरेन्द्र कुँवर, वरिष्ठ इञ्जिनियर सुरेश कुमार बज्राचार्य, डिस्प्याचर सन्त प्रजापति तथा नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधि भरतराज पराजुली थिए ।
नयाँ जहाज फ्रान्सेली−इटालियनको सहकार्यमा उत्पादित ट्वीन इञ्जिन टर्बोप्रप विमान हो । यसको उत्कृष्ट निर्माण र प्रदर्शनले गर्दा एटीआर−७२−५०० संसारको सबैभन्दा सफल क्षेत्रिय क्यारियरहरु मध्येमा पर्दछ ।
एटीआर−७२−५०० विमानको विश्व प्रसिद्ध ग्लोबल अपरेटरहरु एयर न्यूजिल्याण्ड, एयर लिङ्स, एसएएस, एचओपी, फ्लिव, अजुल, बैंकक एयरवेज, जेट एयरवेज, मलिन्दो आदी हन् । विमान के एफ् टर्बो लिजिङ्ग लिमिटेडबाट खरिद गरीएको र यो नेपालमा एटीआर ७२ बिमान खण्डमा सबैभन्दा नयाँ विमान हुने कम्पनीको भनाई छ ।
यो विमान थपिंदा यति एयरलाइन्सले एटीआर ७२ को सेवा विस्तार गरेर भद्रपुर र पोखरासम्मको सेवा प्रदान गर्ने छ । यती एयरलाइन्सले १९९८ मा सेवाको थालनी गरेको हो र हाल यति एयरलाइन्ससंग ३ वटा एटीआर−७२−५०० र ६ वटा बीएई एष्टस्ट्रीम ४१ रहेको छ । त्यसैगरी यसको सहायक कम्पनी तारा एयरसँग २ वटा डोर्नियर डीओ−२२८, २ वटा ट्वीनटर र २ वटा ट्वीनअटर भाइकिङ ४०० सिरिज छन् ।