एनआईसी एशियाको खुद नाफा ३ अर्बभन्दा बढी, प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७७∕७८ को तेस्रो त्रयमासमा नाफा बढाउन सफल भएको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रयमासको वित्तीय विवरण अनुसार बैंकले ३ अर्ब खुद मुनाफा आर्जन गरेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०७ प्रतिशत बढी हो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.२३ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी भने ३०.९४ प्रतिशत घटेको छ । बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा २१.९७ प्रतिशत बढेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २२ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १९ पैसा बढेर ३४ रुपैयाँ ८७ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २७.८२ गुणा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी १९ प्रतिशत बढेको छ भने जगेडा कोष १५.२० प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ३६.५५ प्रतिशत र कर्जा ५४.६० प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा ०.२८ प्रतिशतविन्दु घटेर ०.४७ प्रतिशतमा झरेको छ ।