शुक्रवारदेखि सीईडीबी हाइड्रोपावरको आईपीओ निष्कासन हुँदै |
काठमाडौं । शुक्रवारदेखि सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ विक्री गदैंछ । कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ विक्री गर्न लागेको हो ।
सार्वजनिक निष्कासनमा आस्बा सेवा अनिवार्य रहेकाले अनलाइन मार्फतनै शेयर भर्न सकिने भन्दै निषेधाज्ञाकै बीच आईपीओ विक्री खुला हुने कम्पनीले बताएको छ ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो ।
यो आईपीओ छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिभित्रै विक्री बन्द हुने कम्पनीको भनाइ छ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ खरीदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ ।
कोभिड जोखिमलाई ध्यान दिदैं मेरो शेयर मार्फतनै आवेदन दिन सबै लगानीकर्ताहरुलाई नियामक निकायले सुझाब दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञाका विच विहान १० बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय सञ्चालन गर्ने भएका छन् ।
कम्पनीलाई आईपीओ विक्रीको लागि धितोपत्र बोर्डले वैशाख २ गते अनुमति दिएको थियो । विसं २०७४ साल असार २७ गते बोर्डमा आईपीओका लागि निवेदन दिएको कम्पनीले करिब ४ वर्षमा आईपीओ विक्रीको अनुमति पाएको हो ।
हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी गरेपश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुग्नेछ । कम्पनीमा आईपीओ पश्चात संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारणमा ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
कम्पनीद्वारा प्रबर्द्धिधत साङ्गे जलविद्युत आयोजना र राधी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत् आयोजना, दोर्दी १ जलविद्युत आयोजना र रुकुमगाडा जलविद्युत् आयोजना निर्माणधीन अवस्थामा रहेका छन् ।
उक्त कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजना प्रबर्द्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८∕ ७९ मा चुक्तापूँजी वृद्धि गरी रू. ८८ करोड १३ लाख ८० हजार पुर्याचउने प्रक्षेपण गरेको छ ।
आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । आर्थिक वर्ष ०७६÷ ७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ७९ रहेको छ ।
सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले तीन गुणासम्मको लागि मूल्य तोक्नेछ । गत आर्थिक वर्षको अन्त्यसम्म उक्त कम्पनीले रू. ७ करोड ६६ लाख ६५ हजार खुद नाफा गरेको छ ।