शुभम् पावरले ५ लाख ८० हजार कित्ता आइपीओ ल्याउदै |
काठमाडौं । शुभम् पावर कम्पनीले ५ लाख ८० हजार ५ सय ८० कित्ता आइपीओ बिक्री गर्ने भएको छ । शुभम्ले ५ करोड ८० लाख ५८ हजार रुपैयाँको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले सर्वसाधारणलाई आइपीओ बिक्री गर्न लागेको हो । बोर्डले अनुमति दिएपछि सर्वसाधारणमा बिक्री खुला हुनेछ ।
कम्पनीले यसअघि जेठ २० देखि असार २४ गतेसम्म संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाका लागि २ लाख कित्ता आइपीओ बिक्री खुल्ला गरेको थियो । तर स्थानीय बासिन्दाले जम्मा १९ हजार ४ सय २० कित्ताका लागि मात्र आवेदन दिएका थिए । नबिकेको १ लाख ८० हजार ५ सय ८० कित्तासमेत जोडेर अब सर्वसाधारणमा बिक्री खुल्ला गरिन लागेको हो ।
अब सर्वसाधारणले ५ लाख ८० हजार ५८० कित्तामा आवेदन दिन पाउने भएका हुन । स्थानीयलाई बिक्री गरिएको सेयर सबै नबिकेमा त्यसो सर्वसाधारणलाई बेच्ने प्रावधान छ । यसमा बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गर्नेछ । कम्पनीले हाल संखुवासभा जिल्लामा ९ सय ९० किलोवाटको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी २०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ ।