सिद्धार्थ बैंकको खुद नाफा २ अर्बभन्दा बढी |
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार सो अवधिसम्ममा बैंकले २ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ६ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.१२ प्रतिशत बढी हो ।
खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढेको र निष्क्रिय कर्जा घटेका कारण खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.०३ प्रतिशत घटेको छ । तर, सो अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १९.८२ प्रतिशत र सञ्चालन मुनाफा ५०.७५ प्रतिशत बढेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८३ करोड १४ लाख रुपैयाँ पुगेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ३७ पैसा बढेर २५ रुपैयाँ २८ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ८९ पैसा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष ४४.२५ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप २३.४२ प्रतिशत र कर्जा २३.८६ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा १.३६ प्रतिशतविन्दु घटेर ०.८८ प्रतिशतमा झरेको छ ।